समाचारशुक्रबार, मंसिर ८, २०६९
राष्ट्रपतिद्वारा ३८ (१) अनुसार सहमतीय सरकार आह्वान
राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि १४ मंसीर दिनको ४ बजेसम्म सहमतिमा पुग्न म्याद तोकेका छन् । यसअघि दलहरुबीच सहमतिका लागि ७ मंसीरसम्मको अनौपचारिक म्याद दिएका राष्ट्रपति यादवले ८ मंसीरमा औपचारिक आह्वान गरेका हुन् ।
वर्तमान सरकार आफैंले ७ मंसीरका लागि घोषणा गरेको निर्वाचन गराउन नसकेको, मुलुकलाई संकटबाट निकास दिनका लागि दलहरुबीचमा सहमति नभएको र ७ मंसीरमै आएको प्रधानमन्त्रीको सन्देशले समेत सहमतिको आधारलाई झनै पर धकेलेको बेला राष्ट्रपतिले यसपटक भने सहमतिको सरकार लागि संविधान अनुसार औपचारिक आह्वान गरेका छन् ।
अन्तरिम संविधानमा उल्लेख भए अनुसार संविधानको धारा ३८ (१) अनुसार सरकार गठन नभएमा धारा ३८ (२) अनुसार संसदलाई बहुमतीय आधारमा सरकार चयनका लागि आह्वान गर्ने व्यवस्था छ । तर, अहिले संसद नभएका बेला ३८ (१) अनुसार सहमतिको सरकार गठन नभएको अवस्थामा के गर्ने भन्ने अन्योल छ ।

