समाचारशनिबार, मंसिर १९, २०७२
मधेशी मोर्चाका दुई माग पूरा गर्नै हुँदैनः देव गुरुङ
मोहन वैद्य नेतृत्वको माओवादीका केन्द्रीय सचिवालय सदस्य देब गुरुङले मधेशी मोर्चाको मागमध्ये दुई वटा माग पूरा गर्नै नहुने बताएका छन् ।
१९ मंसीर बिहान पाल्पाको तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गुरुङले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र अंगिकृत नागरिकता पाएकाले संवैधानिक निकायमा नियुक्ति पाउनु पर्ने दुई मागहरु मुलुकको हितमा नरहेको दाबी गरेका हुन् ।
नेपाल–भारत खुला सीमाबाट भारतीयहरुको नेपाल प्रवेश ह्वारह्वारती हुने र नागरिकता प्राप्त गर्न भारतीयलाई सजिलो भएकाले यी दूई माग पूरा हुँदा भोली मुलुकलाई अप्ठेरो पर्ने गुरुङको ठहर छ ।
अर्को प्रसंगमा गुरुङले एमाओवादीसँग तत्कालै एकता सम्भव नभएको बताए ।
उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सत्ता र शक्तिको लोभमा रुमलिएको भन्दै ओली सरकार असफल भएपछि आफ्नो पालो आउला भनी कुरेर बसेको आरोप लगाए ।
उनले एमाओवादी एमालेमा बिलिन हुनेसक्ने समेत दाबी गरे ।
गुरुङले पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले पुँजिवादी पार्टी निर्माणको क्रममा रहेको समेत दाबी गरे ।
देव पचभैया, पाल्पा
