समाचारशनिबार, मंसिर ९, २०६९
नेता र विदेशी राजदूतहरुको धुलिखेलमा भोज
नेपली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले आयोजना गरेको भनिएको दिवा भोजमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेशी मोर्चाका संयोजक एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतका नेताहरु र भारत, चीन, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रुस, बंगलादेश, श्रीलंकालगायतका देशका राजदूत सहभागी थिए ।
भोजमा सहभागी कांग्रेस सभापति कोइरालाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै सहमतिको विकल्प नभएको र राष्ट्रपतिले तोकेको समयसीमाभित्रै सहमति हुने बताए । त्यस्तै एमाले अध्यक्ष झलनाथ खनालले सात दिनभित्र सहमति जुटाउनका लागि आफूहरुले अथक प्रयास गरिरहेको जानकारी दिए । मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारले पनि तोकिएको समयमै सहमति हुने बताए।
धुलिखेलको मिराबेल रिसोर्टमा आयोजित उक्तभोजमा सहभागी राजदूतहरुले छिटै सहमति कायम गरी नयाँ सरकार गठन गर्न सुझाव दिएको बुझिएको छ ।
राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि आह्वान गरेका बेला आयोजना भएको यो भोज अर्थपूर्ण मानिएको छ ।
