समाचारशनिबार, मंसिर ९, २०६९
एमाओवादीले विपक्षीसँग निकासका लागि प्रस्ताव माग्यो
राष्ट्रपतिको आह्वानपछि पहिलोपटक बसेको तीनदलका शीर्ष नेताहरुको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिको सरकार गठनका लागि विपक्षी दलबाट प्रधानमन्त्रीको नामसहित संवैधानिक संकटबाट निकासको प्रस्तावसमेत माग गरेका हुन् ।
बैठकपछि ९ मंसीर साँझ हिमालखबरसँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “हामीले सहमतीय सरकारको नेतृत्व कांग्रेसको हुनुपर्छ भन्यौं, उहाँको (एमाओवादी अध्यक्ष दाहालको ) आशय संवैधानिक राजनीतिक संकटबाट निकासका साथै प्रधानमन्त्रीको नामसहित प्रस्ताव दिनुस भन्ने रह्यो ।”
कांग्रेसको नेतृत्व स्वीकार्ने हो भने तुरुन्तै नाम दिइने पनि उपसभापति पौडेलले बताए । उनले अगाडि भने, “अहिले देउवाजी (शेरबहादुर देउवा) सुदुरपश्चिममा हुनुहुन्छ, उहाँ आएलगत्तै हामी केन्द्रीय समितिको बैठक बसी निर्णय गर्छौं ।”
पौडेलले संविधान निर्माणमा नमिलेका प्राविधिक विषयमा संवन्धित विज्ञहरुसँग छलफल गर्ने बारे पनि कुरा भएको बताए । “सहमतिको विकल्प छैन भन्नेमा तीनै दल सहमत छौं, छिटै सहमति गर्नुपर्छ भन्ने छ,” पौडेलले थपे ।
बैठकमा सहभागी एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको आह्वानका बारेमा छलफल नभएको तर, आफ्नो दल संक्रमणकाल लम्बाउने पक्षमा नरहेको भन्दै हदैसम्मको लचकता अपनाइने बताए ।
सिंहदरबारस्थित शान्तिमन्त्रालयमा बसेको बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम सहभागी थिए । त्यस्तै प्रधानमन्त्री बाबुराम भट्टराई पनि बैठकमा सहभागी थिए ।
