समाचारशनिबार, मंसिर ९, २०६९
राष्ट्रपतिले वक्तव्य सच्याउनुपर्छ: सत्तारुढ गठबन्धन
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा ९ मंसिरमा बसेको गठबन्धनको बैठकले नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपति डा. रामवरण यादवले गरेको आह्वान अन्तरिम संविधान २०६३ को प्रावधान, मर्म र भावनाविपरीत भएको निष्कर्ष निकालेको हो । व्यवस्थापिका संसद रहेको अवस्थामामात्र अन्तरिम संविधानको धारा ३८(१) र २ को प्रावधानअनुसार प्रधानमन्त्री चयन गर्न सकिने भन्दै गठबन्धनले राष्ट्रपतिको पछिल्लो वक्तव्यले राजनीतिक द्वन्द्व बढाउने ठहर गरेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।
प्रवक्ता सिंहले व्यवस्थापिका संसद नरहेको अवस्थामा राजनीतिक सहमतिद्वारा अन्तरिम संविधानको संशोधन नगरी राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयन गर्नै नसक्ने भएकाले सो कदम पूर्णतः असंवैधानिक र गैरकानुनी भएको निष्कर्ष निकालेको बताए । राष्ट्रपतिको कदम संविधान र कानुनको वर्खीलाप हुनुका साथै आलंकारिक राष्ट्रपतिको अधिकारभित्र पनि नपर्ने बैठकको ठहर छ ।
बैठकले राष्ट्रपतिले आफ्नो वक्तव्यलाई नसच्याए सङ्घर्षमा उत्रन आफूहरू बाध्य हुनेसमेत निष्कर्ष निकालेको प्रवक्ता सिंहले उल्लेख गरे । यसैगरी गठवन्धनले राष्ट्रपतिले कार्यकारी अधिकार लिन खोजेको भन्दै वक्तव्य सच्याउनसमेत आग्रह गरेको छ । रासस
