समाचारमंगलबार, पौष ७, २०७२
सेनाले किन्यो ‘बम डिस्पोजल रोबोट’
नेपाली सेनाले सडक छेउछाउ भेटिएका बम निष्क्रीय गर्न सक्ने ‘बम डिस्पोजल रोबोट’ खरिद गरेको छ ।

‘बम विस्फोट रोबोट’ का निर्माताहरु क्रमशः गणेश विक्रम सिंह आले, अमृत दाहाल र सुमित थापा परीक्षणपछि रोबोटका साथमा । तस्वीर: रत्न श्रेष्ठ, रासस
२६ चैत २०७० मा नेपाली सेनाको आदर्श विकास टोलीले आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी कम्पिटिसनमा प्रथम स्थान हासिल गर्न सफल भएको बम डिस्पोजल रोबोटलाई मिलिटरी भर्सनमा अपग्रेड गरी सेनाले खरिद गरेको हो ।
प्रधान सेनापति राजेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा जङ्गीअड्डा परिसरमा ७ पुसमा एक विशेष समारोहबीच नेपाली सेनाले खरिद गरेको रोबोटको निर्माणकर्ता गणेश विक्रम सिंहको टोली र सेनाबीच खरिद सम्झौता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
समारोहमा टीम लिडर सिंहले रोबोटको साँचो प्रधानसेनापति क्षत्रीलाई हस्तान्तरण गरेका थिए भने प्रधानसेनापतिले चेक हस्तान्तरण गरे ।
यस किसिमको बम डिस्पोजल रोबोट खरिदबाट नेपाली उत्पादकलाई प्रोत्साहन मिल्नुका साथै सानातिना झाडी/बुट्यान, सडक छेउछाऊ तथा घरको भुइँतल्लामा राखिएका बम सुरक्षित तवरले निष्क्रीय गर्न मद्दत पुग्ने सेनाले जनाएको छ ।
रासस
