समाचारशनिबार, पौष ११, २०७२
विराटनगर–जोगवनी नाकामा झडप, महतो घाइते

राजेन्द्र महतो
विराटनगर–जोगवनी सीमा नाकामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नेतृत्वको समूह र प्रहरीबीच केहीबेर झडप हुँदा महतो घाइते भएका छन् ।
भारत हुँदै नेपाल प्रवेश गरेका महतो सीमाक्षेत्रभन्दा केही उत्तरतर्फ रानी क्षेत्रमा आयोजित सभामा सहभागी हुने कार्यक्रम भए पनि उनको समूह कार्यक्रमस्थलमा नगई दशगजा क्षेत्रमै धर्ना बसी आवागमन ठप्प पारे पछि प्रहरीसँग झडप भएको हो ।
जोगवनीमा आयोजित एक सभामा सहभागी हुन भारत पुगेका महतो नेपाल प्रवेश गर्दा भारतीय नागरिकहरु पनि सहभागी हुनसक्ने भन्दै प्रहरीले पहिल्यैदेखि उच्च सतर्कता अपनाएको थियो ।
तर महतो पूर्वनिर्धारित कार्यक्रममा नगई सीमामा धर्ना बस्न थालेपछि उनको समूहलाई त्यहाँबाट हटाउन सामान्य बल प्रयोग भएको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रमा महतो
प्रहरीले महतो लगायतको समूहलाई नाकाबाट हट्न बारम्बार अनुरोध गरे पनि नहटेपछि मात्रै बल प्रयोग गरेको जनाएको छ । नाकाको अवरोध हटाउने क्रममा महतोको टाउको र घुँडामा चोट लागेको छ । प्रहरीको हस्तक्षेपपछि जोगवनीतर्फ लागेका महतोलाई पछि विराटनगरस्थित गोल्डेन अस्पतालमा ल्याइएको थियो । त्यहाँ उनको उपचार-मल्हमपट्टी भएको छ ।
महतोसहित २० जना मधेशी मोर्चाका कार्यकर्ता घाइते भएको तमलोपाका मोरङ अध्यक्ष मोहम्मद कादिरले बताए ।
धर्नाकारीलाई सीमाक्षेत्रबाट हटाउनेक्रममा प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको थियो ।
कमल रिमाल, बिराटनगर
