समाचारसोमबार, पौष १३, २०७२
मोर्चाको नाराबाजीबीच संविधान संशोधन विधयेकमाथि छलफल शुरु, पाँच विधयेक पारित
व्यवस्थापिका–संसदमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोधका बीच संविधान संशोधन विधयेकमाथि छलफल शुरु भएको छ ।
पटक–पटक स्थगित हुँदै आएको उक्त विधयेकमाथि सैद्धान्तिक छलफल शुरु भएको जानकारी सभामुख ओनसरी घर्तीले दिएपछि सांसदहरुले छलफलमा भाग लिइरहेका छन् । छलफलकाे पहिलाे दिन सांसदहरु केशव बडाल र गाैरीशंकर चाैधरीले भाग लिए । अन्य सांसदहरुले भाेलि दिउँसाे १ बजेबाट शुरु हुने छलफलमा धारणा राख्नेछन् ।
बैठक शुरु हुनासाथ नाराबाजी गर्दै मोर्चाका सांसदहरुले रोष्टम घेराऊ गरेपनि संसदबाट अन्य पाँच वटा विधयेक पारित भइसकेको छ ।
अर्थ मन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘एशियाली पूर्वाधार लगानी बैंकको विधान सम्झौता’ सभामुखले निर्णयार्थ पेश गरेको ‘मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२’ अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक,२०७२’ र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘शिक्षा सम्बन्धी आठौं संशोधन विधयेक–२०७२’ पारित भएको छ ।
यस्तै, स्वास्थ्य मन्त्री रामजनम चौधरीले प्रस्तुत गरेको ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक–२०७२’ पनि संसद्बाट पारित भएको छ ।
–कपिल भट्ट, काठमाडाैं
