समाचारसोमबार, मंसिर ११, २०६९
मन्त्रीहरु भन्छन, ‘विवाद बढाएर फाइदा छैन’
स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतो संविधानको आफूखुशी ब्याख्या गर्दै एक–आपसमा आरोप प्रत्यारोप गरेर मुलुकको समस्या समाधान नहुने बताउँछन् । ११ मंसीरमा हिमालखबरसँग कुरा गर्दै उनले भने, “विवाद बढाएर निकास आउने हैन, त्यसैले क्रिया–प्रतिक्रियाका पछि नलागौं ।” उनले थपे, “अहिलेको उत्तम विकल्प भनेको सहमतीय सरकार गठन गरेर निर्वाचनमा जानु नै हो ।”
राष्ट्रपतिको आह्वानले दलहरुलाई सहमतिमा पुग्न थप दवाब पुगेको भन्दै सदभावना पार्टीका अध्यक्ष समेत रहेका महतोले अगाडि भने, “स्वयम् संविधानविद्हरु नै ध्रुविकृत भइरहेका बेला हामी (राजनीतिक दलहरु) ले कसको कदम सही र गलत भन्ने होइन, मुख्य कुरा मुलुकलाई संवैधानिक–राजनीतिक जटिलताबाट निकास दिन सहमति गर्ने हो । ”
दलहरुबीच सघन छलफल गरेर जसको नाममा सहमति बन्छ उसैको नेतृत्वमा नयाँ सरकारको गठन गर्नु जरुरी रहेको उनले बताए ।
त्यस्तै सिंचाईमन्त्री महेन्द्र प्रसाद यादवले राष्ट्रपतिको आह्वानको विरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।
११ मंसीरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले राष्ट्रपतिको कदमको विरोध भएपछि निर्वाचनको वातावरण विथोलिने पो हो की भन्दै चिन्ता व्यक्त गरे ।
तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले भने, “राष्ट्रपतिको उद्देश्य सहमतिका लागि सहज वातावरण बनाउने रहेकोले त्यसमा विवाद गर्नुको औचित्य छैन ।”
उनले मन्त्रिपरिषदले राष्ट्रपतिलाई बुझाएको पत्रमा समेत राष्ट्रपतिको आह्वान संवैधानिक वा असम्बैधानिक नभनेको दाबी गरे । “प्रधानमन्त्रीको पत्र जानकारी मात्रै हो, कदमलाई हामीले असम्बैधानिक भनेका छैनौं ।”
सरकरमै रहेको अर्को दल मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले राष्ट्रपतिको आह्वानलाई असम्बैधानिक भनेर अनावश्यक विवादमा फस्न नहुने बताए । उनले जागिर बचाउनका लागि प्रधानमन्त्री र राष्ट्रपतिबीच द्वन्द्व नबढाउन सल्लाहकारहरुलाई सुझाव दिए ।
मुलुकलाई सहमतिमा निकास दिनका लागि राष्ट्रपतिको आह्वान आइसकेकोले अब त्यसलाई स्वीकारेर अगाडि बढ्नु पर्ने देवको भनाई थियो ।
