समाचारशनिबार, मंसिर १६, २०६९

निष्ठाका राजनीतिज्ञ रहेनन्

रासस

बिहान ‘मर्निङ वाक’ गरेर कोठामा फर्केका नेता भीमबहादुर तामाङ अब हामीमाझ रहेनन्  । तामाङ समकालीन राजनीतिमा एउटा आदर्शवादी नेताकारुपमा समेत चिनिन्थे ।

तामाङले बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद नै सबैभन्दा ठूलो समावेशी दर्शन हो भन्ने स्पष्ट मान्यता राख्दै आएका थिए । जातीय र क्षेत्रीय भावनाका आधारमा समाजमा बिग्रह ल्याउन नदिन आफ्नो मृत्यु अघिसम्म पनि क्रियाशील नेता गुमाउँदा कांग्रेसले मात्र नभई मुलुकका धेरै राजनीतिज्ञ, वुद्धिजिवी र उनलाई बुझेकाहरुले  ठूलो रिक्तता महसुस गरेका छन् ।

जातीय सद्भाव र बलियो राष्ट्रिय एकताका पक्षमा खरोरुपमा उत्रिने तामाङ सधैँ सबैका लागि प्रेरणा स्रोतकारुपमा रहे । तामाङले आफ्नो सम्पूर्ण जीवन प्रजातान्त्रिक समाजवाद प्राप्तिका लागि अर्पणसमेत गरे ।

दोलखा जिल्लाको झले गाविसमा विस १९९२ मा जन्मेका तामाङ २०१४ सालमा कांग्रेसमा आबद्ध भएका थिए । विस २०१७ मा राजा महेन्द्रले शासनसत्ता हातमा लिएपछि सुवर्ण शम्शेर राणाले गरेको क्रान्ति र २०२८ सालमा बीपी कोइरालाको आह्वानमा भएको अर्को क्रान्तिमा तामाङ होमिएका थिए ।

विस २०१४ को भद्रअवज्ञा आन्दोलनदेखि नेपाली कांग्रेसमा आबद्ध भई त्यसबेलादेखिनै रामेछाप र दोलखाको चरिकोटको आन्दोलनमा सक्रियतापूर्वक भाग लिएका तामाङ तत्कालिन राजा महेन्द्रको २०१७ सालको कदमपछि सुरक्षा कानुनअन्तर्गत छ महिना सेन्टर जेल बसे र त्यसपछि तुरुन्तै भारत निर्वासनमा गए । शहीद सरोजप्रसाद कोइरालाको नेतृत्वमा जयनगर, दरङ्भगा, बनारस क्याम्पमा उनी सक्रिय रहे ।

विस २०२६ मा आममाफी पाएपछि स्वदेश फिर्ता भएका समाजवादी नेता तामाङ २०२७ मा फेरि निर्वासित भएर भारतको बनारसमा बसे । बीपी कोइराला र गिरिजाप्रसाद कोइरालासँग नजिक रहेर तरुण पत्रिका र पार्टीको अन्य प्रकाशनसम्बन्धी र क्रान्तिका लागि बन्दोवस्त कार्यमा उनी संलग्न थिए ।

विस २०२९ को उत्तराद्र्धदेखि वि.सं. २०३४ को असोजसम्म नख्खुजेलमा रहँदा सन्त नेता कृष्णप्रसाद भट्टराईको अभिभावकत्वमा प्रकाशित हस्तलिखित पत्रिका पुनर्जागरणमा सम्बद्ध भए । विस २०३८ को आमचुनावको वहिष्कारको सन्दर्भमा र २०४२ को सत्याग्रहमा उनी जेल परे । विस २०४५ देखि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य भएका तामाङ विस २०५१ मा प्रतिनिधिसभामा निर्वाचित भई २०५२ सालमा न्याय तथा कानुनमन्त्री भएका थिए ।

जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको निकट सान्निध्य र विचारबाट प्रेरित स्वर्गीय तामाङ २००७ सालका पुस्ताका नेताको सङ्घर्षपूर्ण जीवनको एउटा प्रभावशाली र जीवन्त कडी थिए । विपन्न पारिवारिक पृष्ठभूमिबाट आएका तामाङको जीवन अन्ततः राष्ट्रिय एकता र सामाजिक सद्भाव प्रबद्र्धन गर्ने गौरवपूर्ण उपलब्धिको जीवन रह्यो ।

लोकतान्त्रिक आन्दोलनमा समर्पित नेता तामाङले पछिल्लो समयमा देशमा सामाजिक सद्भाव बिथोलिन नदिन गम्भीरतापूर्वक आफूलाई प्रस्तुत गरे । काँग्रेसले उनलाई आदिवासी जनजातिहरुको मुद्दा सम्बोधन गर्न आवश्यक पर्ने सुझाव र गृहकार्यका लागि समिति गठन गरेर जिम्मेवारीसमेत सुम्पेको थियो ।

सिद्धान्तप्रति प्रतिबद्ध तामाङ लोकतान्त्रिक समाजवादको छाहारीमा सबै अटाउँछन् र त्यसरी अटाउँदा मानवजातीको कल्याण हुन्छ भन्ने मान्यतामा अडिग थिए । उनको सादा जीवन, सरल र पारदर्शी जीवनशैली समकालीन नेपाली राजनीतिमा नमुनाकारुपमा लिइन्छ ।

‘राजनीतिमा कहिलेकाँही अप्रिय निर्णय पनि लिन सक्नुपर्दछ र ‘एन्टी करेण्ट’मा उभिन सक्नुपर्छ’ भन्ने बीपी कोइरालाको भनाइबाट प्रभावित तामाङ मुलुकमा जातीय भावना फैलँदै गर्दा त्यसको विपक्षमा उभिएर जातीय सद्भाव तथा बलियो राष्ट्रिय एकताका पक्षमा देखिए ।

मन्त्रीसमेत भएका नेता तामाङले राजधानीमा आजीवन भाडाको घरमा जीवन विताए । पछिल्लो समय उनी कांग्रेसका पूर्वसभासद् तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको घरमा बस्दै आएका थिए । लोभलालच नगर्ने नेता तामाङको निधनबाट कांग्रेसले मात्र नभई समग्र मुलुकले योग्य र सक्षम नेता गुमाएको छ । उनको परिवारमा एक छोरा र छोरी छन् ।

राजनीतिको यात्रामा चिन्नेहरुले तामाङको झण्डै आठ दशक लामो जीवन आडम्बरबाट मुक्त, सिद्धान्त र व्यवहारको एकीकृत अभिव्यक्ति रहेको बताउँछन् ।

अहिलेको जटिल राजनीतिक अवस्थामा तामाङको व्यक्तित्वलाई राजनीतिक सधै जनताको सेवाको रुपमा तथा राष्ट्रिय एकता र सामाजिक सदभावको कडीको रुपमा रहेको रुपमा स्मरण गर्दछन् ।

सम्भवतः गएको कात्तिक २४ मा तामाङले गरेको सार्वजनिक भाषण पछिल्लो सार्वजनिक भाषण थियो, जहाँ उनले देशमा सामाजिक सद्भाव, जातजातिबीच प्रेम र सहिष्णुताको आवश्यकता रहेको पटकपटक उल्लेख गरेका थिए ।

कांगे्रसका सभापति सुशिल कोइरालाले तामाङ सिद्धान्त र व्यवहारका एकीकृत अभिव्यक्ति भएको बताएका छन् । उपसभापति रामचन्द्र पौडेलले तामाङको निधनले लोकतान्त्रिक आन्दोलनकासाथै मुलुक र पार्टीलाई क्षति पुगेको बताए ।

प्रधानमन्त्री बाबुराम भट्टराईले तामाङको निधनले आदर्श र सिद्धान्तको राजनीति गर्नेहरुका लागि ठूलो धक्का पुगेको बताउँदै यस्ता आदर्शवान, सिद्धान्तप्रति निष्ठावान व्यक्तिहरु समाजमा कमै देखापर्ने गरेको टिप्पणी गरे ।

तामाङको निधनमा शोक र समवेदना जनाउन अस्पताल र पार्टी कार्यालय पुगेका  तथा समाचार सुन्नेहरुले सामाजिक सदभाव बिथोलिन खोजेको अहिलेको राजनीतिक सङ्क्रमणकालमा तामाङको निधनले साँच्चै नै अपूरणीय क्षति पुगेको दुःखेसो गरे । “अहिलेको राजनीतिक अवस्थामा तामाङको निधन साँच्चै नै अपुरणीय क्षति हो,” कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भने ।

झण्डै डेढदशक अघिदेखि नयाँ वानेश्वरमा अधिवक्ता एवं पूर्व सभासद राधेश्याम अधिकारीको घरमा बस्दै आएका तामाङले मन्त्री हुँदा अधिकारीको घरमा बस्न आउँछु भनेका थिए । “नभन्दै उहाँ एउटा झोला लिएर सामान्य रुपमा आउनुभयो, मैले उहाँलाई स्वार्थरहित त्यागी र सरल व्यक्तिकारुपमा सम्झन्छु,” अधिकारीले भने ।

तामाङ्को निधनप्रति नेपाली कांग्रेसले शोक व्यक्त गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र कार्यालय बन्द राख्ने निर्णय गरेको छ ।

विष्णु नेपाल / हीरालाल विश्वकर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>