समाचारशुक्रबार, फाल्गुण २८, २०७२
न्यायाधीश सुनुवाई गरी संवैधानिक दायित्व निर्वाह गरः सर्वोच्च बार
सर्वोच्च बार एसोसिएसनले न्यायपरिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस सुनुवाई समितिमा पठाएर संवैधानिक दायित्व निर्वाह गर्न सभामुखलाई आग्रह गरेको छ ।
२८ फागुनमा सर्वोच्च बारका सचिव बालकृष्ण ढकालले विज्ञप्ती जारी गर्दै सभामुखलाई संविधानले तोकेको दायित्व निर्वाह गरी संसद नियमावली र सुनुवाई समिति बनाएर न्यायाधीश सिफारिस सुनावाईमा लैजान आग्रह गरेका हुन् ।
‘न्यायाधीश नियुक्ति हुन नसक्दा न्याय सम्पादनमा गम्भीर असर परिरहेको, उचित समयमा मुद्दाको फैसला हुन नसक्दा उपभोक्ताहरु न्याय प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भइरहेको र सोबाट न्यायपालिकाप्रतिको जनआस्थामा पनि गम्भीर असर पर्नसक्ने अवस्थाको विद्यमानतालाई मनन् गरि’, विज्ञप्तीमा भनिएको छ,‘न्यायपरिषद्बाट भएको सिफारिस फिर्ता पठाएकोप्रति बारको गम्भीर ध्यानाकर्षण भएको छ ।’
न्यायपरिषद्को सिफारिस फिर्ता गरेर व्यवस्थापिका संसदले संविधानले तोकेको दायित्व निर्वाह गर्न तत्परता नदेखाएकाे भन्दै सर्वोच्च बारले तत्काल न्यायाधीश सुनुवाईको प्रक्रिया सम्पन्न गर्न माग गरेको छ ।

