समाचारआइतबार, मंसिर १७, २०६९
राष्ट्रपति यादवलाई डि.लिट.को उपाधि
नेपाल भ्रमणमा रहेका भारतीय कांग्रेस (आई) का नेता करण सिंहले १६ मंसीर साँझ शीतल निवासमा भएको शिष्टाचार भेटमा आगामी १० पुसमा प्रदान गरिने मानार्थ डिलिट (डक्टर अफ लेटर्स) उपाधि ग्रहण गर्न राष्ट्रपतिलाई औपचारिक निमन्त्रणा दिएका छन् । नेता सिंह वनारस हिन्दु विश्वविद्यालयको कुलपति पनि हुन् ।
सो विश्वविद्यालय सन् १९१६ मा भारतका सुप्रसिद्ध शिक्षासेवी महामना मदनमोहन मालवियको पहलमा स्थापना गरिएको थियो । मालवियको १५०औं जन्मजयन्ती समारोहको अवसर पारेर नेता सिंह शुक्रबार नेपाल आएका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भेटघाट ‘शिष्टाचार भेट’ भएको बताए । दाहालले आगामी १० पुसमा राष्ट्रपति यादव भारतको बनारस जाने कार्यक्रम रहेको पनि जानकारी दिए । त्यसक्रममा नेता सिंह राष्ट्रपति भवन, शीतल निवासमै आयोजित रात्रिभोजमा सरिक भएका थिए ।
भारतीय राजदूतावासका अनुसार नेता सिंह दिनभर विभिन्न भेटघाटमा व्यस्त रहे । सिंहले १६ मंसीरमै ललितपुरको पुरानो लोककृति महाविहारको जिर्णाद्धार भवनको उद्घाटन गरेका थिए । नेता सिंह भोलि स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
