समाचारआइतबार, मंसिर १७, २०६९
जनगणना प्रतिवेदनको विरोध
महासङ्घले नेपाल आदिवासी जनजाति महासङ्घमा सूचीकृत ५९ मध्ये १२ जातिको उल्लेख नभएको, जनजातिको संख्या घटाइएको, हिन्दु धर्म मान्नेहरुको संख्या बढाइएको भन्दै जनगणना प्रतिवेदनसमेत जलाएको छ ।
त्यस्तै सप्तरीको राजविराजमा पनि प्रतिवेदनले मैथिली भाषीको संख्या घटाएको भन्दै जनगणना प्रतिवेदनको विरोध भएको छ । मधेशी नेताहरुले हिन्दीलाई प्राथमिकता दिंदै मधेशमा हिन्दी भाषीको प्राधान्यता देखाउने र राज्यले मैथिली भाषाभित्रै अन्य भाषाहरुको विकास गराउने दुवैको षडयन्त्रमा मैथिली भाषीको संख्या घटाइएको उनीहरुले आरोप लगाएका छन् ।
१७ मंसीरमा राजविराजमा आयोजित एक कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देबेन्द्र मिश्रले भने, ‘‘२०५८ सालको जनगणनामा लगभग १३ प्रतिशत रहेको मैथिली भाषाका प्रयोगकर्ता यस पटक ११ प्रतिशतमा आएको पत्रपत्रिका मार्फत थाहा पाएको छु ।’’ त्यसबेला एक प्रतिशत पनि नभएका भाषाहरु तीन प्रतिशतसम्म बढेको बताउँदै उनले मिथिला क्षेत्रमा पनि हिन्दीलाई सम्पर्क भाषा बनाउने मधेशी नेताको षडयन्त्रका कारण मैथिली भाषीको संख्या कम उल्लेख भएको दावी गरेका थिए ।
सप्तरीबाट श्रवण देवको सहयोगमा
