समाचारसोमबार, मंसिर १८, २०६९

एमाओवादी नेतृत्व कांग्रेसद्वारा अस्वीकार, भट्टराई र दाहालले कोइरालालाई भेटे

हिमालखबर

१८ मंसीर बिहान कोइराला निवास महाराजगञ्जमा अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईले सभापति कोइरालालाई भेटे लगत्तै बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकले एमाओवादीको नेतृत्वमा सहमतीय सरकार बनाउन नसकिने निर्णय गरेको हो ।

बिहानै महाराजगञ्ज पुगेका दाहालले एमाओवादी नेतृत्वको वर्तमान सरकारलाई नै सहमतीय सरकार बनाउन कोइरालासँग आग्रह गरेका थिए । जवाफमा कोइरालाले सहमतीय सरकारका लागि वर्तमान सरकारको वहिर्गमन अनिवार्य भएको अडान राखे । भेटपछि सञ्चारकर्मीसँग दाहालले राजनीतिक सहमति कायम गर्ने विषयमा कुराकानी भए पनि सहमतिको आधार तयार नभएको बताए ।

त्यस्तै दाहालपछि प्रधानमन्त्री भट्टराईले कोइरालालाई भेटी संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गर्नका लागि राजनीतिक सहमति गर्न आग्रह गरे । निर्वाचन आयोग, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पदाधिकारी बिहीन अवस्थामा पुग्न लागेकाले दलहरुले सहमति गरी पदपूर्तिका लागि आग्रह गरेका भट्टराईलाई पनि कोइरालाले सहमतिको सरकार गठनपछि मात्रै संवैधानिक निकायहरुका रिक्त पदमा नियुक्त गर्न सकिने जवाफ दिएको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । कोइरालाले सरकार छोडेर सहमतीय सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि भट्टराईलाई आग्रह गरेका थिए ।

दाहाल र  भट्टराईको  कोइरालासँगको भेटपछि आकस्मिक बसेको कांग्रेस पदाधिकारी एवम् उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले एमाओवादीको नेतृत्वमा सहमतिको सरकार गठन हुन नसक्ने र संवैधानिक निकायमा पदपूर्तिका लागि पनि सहमतिको सरकार गठन हुनुपर्ने निर्णय गरेको छ । सभापति सुशील कोइराला निवासमा बसेको बैठकलेप्रधानमन्त्री बाबुराम भट्टराईको पक्षमा सहमतिको वातावरण बन्दै गएको भन्ने भनाइप्रति आपत्ति समेत जनाएको छ ।

“अहिले प्रधानमन्त्री डा भट्टराईको नेतृत्वमा सहमतिको सरकार बन्ने कुनै पनि सम्भावना छैन, सहमतिको सरकार बनाउने त्यो पनि डा भट्टराईको नेतृत्वमा त्यसको एक प्रतिशत पनि सम्भावना छैन,” कांग्रेस नेता रामशरण महतले भने । केही दिनयता डा बाबुराम भट्टराईको नेतृत्वमा सहमतीय सरकार बन्ने वातावरण बन्दै गएको भन्ने भनाइ सार्वजनिक भइरहेका बेला कांग्रेसले यस्तो निचोड निकालेको हो ।

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले पछिल्लो पटक दिएको सातदिने म्यादको चौथो दिनसम्म पनि दलहरुबीच औपचारिक वार्ता हुन सकेको छैन भने दलहरु आ–आफ्नै अडानमा भएपछि सहमतिको संभावना पनि पर सरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>