समाचारसोमबार, मंसिर १८, २०६९
भट्टराई सरकार आन्दोलबाटै फालिन्छः अध्यक्ष राणा
राष्ट्रिय प्रजातन्त्र पार्टी र जनशक्ति पार्टी एकताको सप्तरी प्रथम जिल्ला अधिवेशनलाई १८ मंसिरमा राजविराजमा सम्बोधन गर्दै अध्यक्ष राणाले आन्दोलनको आँधिबेहरी ल्याएर सरकारलाई फ्याँक्नु जरुरी भइसकेको बताए । उनले भने, “सहमतिको माला जप्दै भट्टराई सरकारले सहमति शब्दकै खिल्ली उडाएको छ ।”
कुनै विकल्प नदिई संबिधान सभा विघटन गराएको र आफैंले घोषणा गरेको निर्वाचन समेत गराउन नसकेको वर्तमान सरकारले सत्तामा रहने नैतिकता र बैधानिकता गुमाइसकेको भन्दै नेता राणाले भट्टराई सरकार अनेकौं बहानामा सत्ता लम्बयाउने खेलमा लागेको आरोप लगाए ।
राणाले सहमतिका लागि राष्ट्रपतिले दिएको थप समयभित्र पनि एमाओवादीले सहमति गर्ने छाँटकाँट नदेखाएको भन्दै सरकारको बहिर्गमनका लागि सशक्त आन्दोलनको विकल्प नभएकोमा जोड दिए । उनले भने, “१५ दलको गठबन्धनले केही दिनमै थाल्ने सशक्त आन्दोलनले सरकार ढालेरै छाड्छ, मुलुकलाई निकास दिन अरु उपाय छैन ।”
उक्त अवसरमा राष्ट्रिय जनशक्ति पार्टीका सह–अध्यक्ष प्रकाशचन्द्र लोहनीले बाबुराम भट्टराई लाजै पचाएर सरकारमा बसिरहेको आरोप लगाउँदै वर्तमान सरकार फाल्न आन्दोलन अनिवार्य रहेकोमा जोडदिएका थिए ।
श्रवणकुमार देव, सप्तरी
