समाचारसोमबार, मंसिर १८, २०६९
दलहरुले प्याकेजमै सहमति खोज्ने
१८ मंसीर साँझ काठमाडौं गौशालास्थित एक होटेलमा भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा विपक्षी नेताहरुले बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार गठन हुन्छ भन्ने भ्रममा नपर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रष्ट पारेपछि प्याकेजमै सहमति खोज्ने निष्कर्षमा पुगिएको नेताहरुले बताए ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले भने, “हामीले पहिला डा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई सम्मानजनक बहिर्गमन गरौं भन्ने प्रस्ताव गर्यौं, एमाओवादीले त्यसो भए एक दुई दिन छलफल गरौं भनेको छ ।” सहमतिको सरकार पहिला कि संवैधानिक र कानुनी बाधा पहिला फुकाउने विषयमा छलफल भएको र आफूहरूले पहिला वर्तमान सरकारलाई विस्थापन गर्नुपर्नेमा जोड दिएको गौतमले जानकारी दिए ।
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभाको विघटनपछि पहिलो पटक सार्थक र गहिरो छलफल भएको बताउँदै प्याकेजमै सहमति खोज्ने सहमति भएको बताए । उनले भने, “अब सहमति खोज्दा सरकार मात्र नभई संवैधानिक निकायको नियुक्ति, निर्वाचनका लागि कानुनी जटिलता फुकाउनेजस्ता विषयमा एकसाथ निकास निकाल्ने सहमति भएको छ ।”
एमाओवादीका नेता अमिक शेरचनले सहमतिको विकल्प नभएकोमा सबैको समान मत रहेको र प्याकेजमा सहमति निकाल्नका लागि १९ मंसीरमा शीर्ष नेताहरुको बैठक पुनः बस्ने जानकारी दिए । यद्यपि, सत्तारुढ दल र विपक्षी दलहरूबीच प्रधानमन्त्रीमा आ–आफ्ना अडान यथावत् नै छन् ।
