समाचारसोमबार, बैशाख १३, २०७३
सामूहिक टहराको योजना छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको कामले गति लिन नसकेको स्वीकार्दै भूकम्प पीडितका लागि सामूहिक टहरा निर्माणको योजना ल्याइएको बताएका छन् ।
सम्पदा पुनःनिर्माण अभियान अन्तर्गत आज, १३ वैशाखमा स्वयम्भूमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विनाशकारी भूकम्प गएको एक वर्ष बितेपनि पुनःनिर्माणले गति लिन नसकेको स्वीकार गर्दै अब तीव्रताका साथ काम हुने बताए ।
उनले आठ लाख निजी घर भत्केको अवस्थामा सरकारले रकम दिए पनि तत्काल नयाँ घर बन्न नसक्ने भएकाले सामूहिक टहरा निर्माणको योजना राखिएको बताए ।
ओलीले भने, ‘‘जनता अप्ठ्यारो र असुविधामा छन्, त्यसैले तीव्रताका साथ पुनःनिर्माण अभियान सञ्चालनका लागि मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु । पुनःनिर्माण र देश विकास गर्न सक्छौँ भन्ने आत्मविश्वासका साथ हामी सबै जुटौं ।’’
कानुन तर्जुमाको ढिलाइले काममा तीव्रता नआएको उल्लेख गर्दै ओलीले आइतबार १० भन्दा बढी जिल्लामा पुनः निर्माण शुरु भएकाले अब ढिलो नहुने बताए ।
प्रधानमन्त्री ओलीले ऐतिहासिक कला, धर्म, संस्कृति हाम्रा आस्थाको धरोहरलाई बचाउन लगातार काम गर्न पनि आग्रह गरे ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले स्वयम्भू क्षेत्रको पुनःनिर्माणका लागि रु एक करोड ७१ लाखको लागत अनुमान गरिएको जानकारी दिए ।
त्यहाँका पाँच सम्पदा, २४ पुजारीका घर पुनःनिर्माणका लागि सो बजेट अनुमान गरिएको हो ।
प्रताप मल्लले बनाएको अनन्तपुर, देवधर्म महाबिहार, टाँसीगोर्मा महाचैत्यलगायत सम्पदा क्षतिग्रस्त भएका थिए ।
