समाचारबिहीबार, मंसिर २१, २०६९

एमाओवादी सत्ता लम्बाउने निहुँ खोज्दैछः कांग्रेस नेता

हिमालखबर

२० मंसीर साँझ एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चा सम्मिलित बैठकमा एकीकृत नेकपा माओवादी र मधेशी मोर्चाले संविधानका अन्तरवस्तुमा सहमति भएमात्रै कांग्रेसको नेतृत्त्व स्वीकार्ने बखेडा झिकेपछि उनीहरु आक्रोशित भएका हुन् ।

“हिंजो हामीलाई प्रधानमन्त्रीको नाम ल्याएर आउनुहोस् भनियो हामीले आज नाम ल्याएर आयौं, तर, आज फेरि संविधानका अन्तरवस्तुमा सहमति खोजौं भन्नुभयो,” आक्रोशित हुँदै नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, “यो सत्ता लम्बाउने खेलमात्रै हो ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउनका लागि संविधानसभाको चुनाव गर्ने भनिसकेपछि त्योभन्दा तलका तपसिलको विषयमा प्रवेश गर्नु भनेको सहमति टार्ने प्रयास मात्रै भएको उनको भनाइ थियो । एमाओवादीको प्रस्तावले आशङ्का उत्पन्न गरेको भन्दै पौडेलले थपे, “हामीले यतिका समयसम्म संविधानमा सहमति खोजौं र संसदको चुनाव गरौं भन्दा उहाँहरूले संविधानसभाको चुनाव गर्ने भन्नुभयो, फेरि अहिले आएर संविधानका अन्तरवस्तुमा सहमति खोजौं भन्ने प्रस्ताव ल्याएउनु भएको छ, यो सत्ता लम्ब्याउने चालबाजीमात्रै हो ।”

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकमा सरकार पक्षले अन्तरवस्तुमा पहिले सहमति हुनुपर्ने प्रस्ताव राखेपछि बैठकमा सहमति जुट्न नसकी पुनः २१ मंसीरमा बैठक बस्ने गरी स्थगित भएको छ ।

छलफलमा सहभागी कांग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाले सत्ताधारी दलहरुले धोका दिएको भन्दै अगाडी भने, “उहाँहरुले सत्ता लम्बाउने बाहना बनाउन थालेपछि बैठकमा बस्नुको औचित्य रहेन र हामीहरु निक्लियौं ।”

२० मंसीर बिहान नेपाली कांग्रेसले सहमतीय प्रधानमन्त्रीका लागि सभापति कोइरालाको नाम तोकेपछि राजनीति अघि बढ्ने अपेक्षा गरिएको थियो । तर, सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले तोकेको म्याद सकिनु एकदिन अघि भएको छलफलमा एमाओवादीले कांग्रेसको नेतृत्व स्वीकार्न आनाकानी गरेपछि सहमति हुन सकेन ।

एमाओवादी प्रवक्ता अग्नि सापकोटाले सङ्घीयता, शासकीयस्वरूप जस्ता विषयमा सहमति हुन सकेमात्रै सरकार छोड्नका लागि आधार बन्ने बताएका थिए । अर्को बैठक आज २१ मंसीर दिउँसो ३ बजे सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बस्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>