समाचारबिहीबार, मंसिर २१, २०६९
सत्तारुढ गठबन्धनले तत्कालै सरकार नछाड्ने
२१ मंसीर बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाओवादी, मधेशी मोर्चा र अन्य साना दलहरुको बैठकले संविधानका अन्तर्वस्तु (शासकीय स्वरुप र संघीयतालगायत), संवैधानिक निकायमा नियुक्ति, आगामी निर्वाचनमा सदस्य संख्यालगायतका विषयमा विपक्षी दलहरुले सहमति नगरेसम्म सरकार नछोड्ने निर्णय गरेको हो ।
बैठकले संविधानसभाको निर्वाचन, त्यसको सदस्य संख्या, संविधान संसोधनलगायतका सबै विषयलाई एकै पटक टुंग्याउन लिखित प्रस्ताव नै तयार गरेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए । आज बैठकले तयार गरेको धारणाका आधारमा विपक्षी दलहरुसँग वार्ता हुने पनि सिंहले जानकारी दिए ।
राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दलहरुलाई दोस्रो पटक दिएको समयसीमा आज समाप्त हुँदैछ । आजै दिउँसो तीनबजे प्रमुख दलहरुको बैठक नयाँ बानेश्वरमा बस्ने कार्यक्रम तय भएको छ । तर, सत्ता गठबन्धनको निर्णयपछि दलहरुबीच सहमति बन्ने आधार देखिंदैन । यस्तो अवस्थामा राष्ट्रपतिले आज रातिसम्म पुनः सहमतीय सरकार गठनका लागि म्याद थप्न सक्नेछन् ।
