समाचारशुक्रबार, मंसिर २२, २०६९

अबको लडाईं अधिनायकबादका विरुद्धः कांग्रेस नेताहरु

हिमालखबर

नेपाल महिला संघद्वारा २२ मंसीरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले एमाओवादीले सत्ता लम्ब्याएर सत्ताकब्जा गर्ने रणनीति अन्तर्गतनै कांग्रेसले उम्मेदवार घोषणा गरेपछि बोली फेरेको र एकपछि अर्को शर्त तेस्र्याएर निर्वाचन हुन नदिने र सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाए ।

एमाओवादी सहमतिमा नआए अबको लडाई अधिनायकवाद र सत्ताकब्जा विरुद्ध हुने भन्दै नेताहरुले अब पनि बार्गेनिङको धृष्टता नगर्न एमाओवादीलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति सुशील कोइरालाले लोकतन्त्रको मूल्य मान्यताविपरीत एमाओवादी गएमा लोकतन्त्रको लहरले बगाएर लैजाने चेतावनी दिंदै प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शविरुद्ध पार्टीको शिर झुकाउने काम आफूबाट नहुने बताए ।
उनले भने, “कांग्रेसभित्र पदको लागि झगडा छ भनेर कोलाहाल मच्चाइयो तर संकट पर्दा कांग्रेस जहिले पनि एक भएर निर्णय गर्छ ।”

वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीलाई धेरै शर्त तेस्र्याएर राजनीतिक समस्या नलम्बाउन र अब कुनै कचकच नगरी कांग्रेसका उम्मेदवारलाई प्रधानमन्त्रीमा सघाउन आग्रह गरे । “धेरै शर्त राखेर समस्या बल्झिने मात्र हो अब कुनै पनि शर्त तेर्साएर अप्ठयारो पार्ने र समस्यालाई लम्बाउने काम गर्न हुँदैन,” वरिष्ठ नेता देउवाले भने ।

उपसभापति रामचन्द्र पौडेलले संविधानका अन्तरवस्तुमा सहमति गरेर जाने हो भने किन चुनाव चाहियो भन्ने प्रश्न गरे । उनले थपे, “एकपछि अर्को शर्त तेस्र्याएर सत्ता लम्बाउने र सत्ताकब्जा गर्ने माओवादीले षड्यन्त्र गर्दैछ, यस्तै सौदावाजी धेरै गर्न थाले अब फेरि एकचोटि लोकतन्त्र र अधिनायकवादविरुद्ध लडाइँ लड्नुपर्छ ।”

महामन्त्री प्रकाशमान सिंहले कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी तोकेपछि माओवादीले बोली फेरेको बताए । “संविधानका अन्तरवस्तुमा कुरा मिलेको भए पहिलेनै संविधान बन्थ्यो, शर्त तेस्र्याएर माओवादीले निर्वाचन नगर्ने र सत्ता लम्ब्याउने चाल चालेको छ,” महामन्त्री सिंहको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>