समाचारआइतबार, मंसिर २४, २०६९
अलकायदा उपप्रमुखको मृत्यु
शेख अबुजद अल कुवैतीको नामले पनि चिनिने खालिद बिन अबदुर्रहमान अलकायदा प्रमुख अयमन अल जावाहिरीपछि संगठनमा दोस्रो प्रमुख नेता थिए । पाकिस्तानको उत्तरी बजरिस्तानको मीरान शाहमा संगठनमा आवद्ध नेताहरुले अलकायदा नेताको मृत्यु तीन दिनअघि ड्रोन आक्रमणमा मृत्यु भएको र उनका अन्य १० साथीहरु पनि मारिएको बताएको बीबीसीले जनाएको छ ।
पाकिस्तानी प्रशासनले भने शेख खालिदको मृत्युको पुष्टि गरेको छैन । ४६ बर्षका शेख खालिदमाथि यसअघि थुप्रै पटक भएका आक्रमण प्रयासबाट उनी बच्न सफल भए पनि यसपाली उनलाई बचाउन नसकिएको अलकायदा नेताहरुले वताएको बीबीसीले उद्धृत गरेको छ ।
अमेरिकी चालक रहित विमानले मीरान शाहभन्दा १३ किलोमिटर टाढा मुबारक शाही गाउँमा हमला गरी शेख खालिदलाई मारेको बताइएको छ । उनको मृत्युले अलकायदा संगठनलाई ठूलो धक्का पुगेको छ ।
