समाचारमंगलबार, मंसिर २६, २०६९
समय सकिनै लाग्दा पनि दलहरुबीच बैठक बसेन
सहमतीय सरकार गठनको लागि राष्ट्रपति यादवले दलहरुलाई तेस्रो पटक दिएको ६ दिनको समय २७ मंसीरमा सकिदैछ । राजनीतिक तथा संवैधानिक सङ्कट समाधानको लागि सहमतिको विकल्प नभएको बताउँदै आए पनि दलका नेताहरुको औपचारिक बैठक पछिल्लो ५ दिनसम्ममा बस्न सकेको छैन । ललितपुरका एमाले नेता कृष्णलाल महर्जनको घरमा तीन दिनअघि बसेको एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको बैठकमा शीर्ष नेताबीच कुरा मिलाएर मात्र औपचारिक बैठक बस्ने सहमति भएको थियो । तर त्यसयता प्रचण्डले एमाले अध्यक्ष झलनाथ खनालसँगमात्र छलफल गरेका छन् ।
सत्ताधारी दलहरु सहमतिका लागि आवश्यक लचकता अपनाउनेभन्दा पनि विपक्षीलाई गलाउने कसरतमा लागेका कारण राष्ट्रपतिबाट सहमतिको लागि पाएको तेस्रो पटकको समय पनि त्यसै गुज्रिने सम्भावना बढेको हो । एकीकृत माओवादी प्रबक्ता अग्नि सापकोटाले औपचारिक बैठक बस्न नसके पनि अध्यक्ष दाहालले दलहरुसँगको अनौपचारिक छलफललाई जारी राखेको भन्दै सहमतिको सम्भावना जीवितै रहेको बताउँछन् । यता विपक्षी दलहरुको गठबन्धन मातहतको कार्यदलकोे बैठकले सहमतिको सम्भावना टरेकोभन्दै पुस महिनाभरीका लागि आन्दोलनको कार्यक्रम प्रस्ताव गर्ने निर्णय गरिसकेको छ भने सरकार समर्थित दलहरुको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले राष्ट्रपतिबाट तेस्रो पटक पाएको समयमा पनि सहमति नभए सरकार विस्तार गर्ने निर्णय यसअघिनै गरिसकेको छ ।
राष्ट्रपतिले ८ मंसीरमा पहिलो पटक सहमतीय सरकार गठनको लागि आह्वान गरेकोमा सहमति नभएपछि फेरि ७ दिन समय थपेका थिए । दोस्रो पटक पाएको समयावधिमा पनि सहमति गर्न दलहरु असफल भएपछि राष्ट्रपतिले तेस्रो पटक दिएको समयसीमा भोली सक्किंदैछ ।
