समाचारबिहीबार, मंसिर २८, २०६९
निर्वाचनको चार महिनाअघि प्रक्रिया पूरा गरः आयुक्त गुरुङ
जिल्ला निर्वाचन कार्यलय लमजुङद्वारा २८ मंसीरमा आयोजित जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घान गर्दे गुरुङले भने, “बैशाखमा निर्वाचन गर्न पुसको पहिलो हप्तामै नीति, तिथि, थिति, नियुक्तिको प्रक्रिया पूरा गरिसक्नुपर्छ ।” निर्वाचनका लागि दलहरुको सहमति यथाशिघ्र आवश्य रहेको बताउँदै आएका गुरुङले निर्वाचन गराउन आयोग प्राविधिक रुपमा सक्षम भए पनि सम्पूर्ण प्रक्रिया पूरा गर्न दलहरुबीचको सहमति र सहकार्य आवश्यक रहेको दोहोर्याए । उनले भने, “निर्वाचनका लागि १२० दिनको समय आवश्यक पर्छ, त्यसैले पुसको पहिलो हप्तामै दलहरुबीच सहमति हुनु आवश्यक छ ।”
उनले सही मान्छे र सही दललाई चुनावमा जिताएमा मुलुकको विकास हुने र राजनीतिक स्थायित्व हुनेमा जोड दिए । आयुक्त गुरुङले यसअघि संविधान सभाको निर्वाचनमा मतदाता नामावलीमा भएको अशुद्धता यस पटक फोटो सहितको मतदाता नामावलीमा नदोहोरिने भन्दै हालसम्म एक करोड ८ लाखको नामावली संकलन भएको जानकारी गराए । गुरुङले अवको निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान गरिने जानकारी गराउँदै सरकारले भारतबाट ‘भोटिङ मेसिन’ खरिद गर्न लागेको बताए ।
जिल्ला निर्वाचन कार्यलय लमजुङका अधिकृत रण बहादुर खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका नेताहरुको समेत उपस्थिति थियो । युवराज श्रेष्ठ,लमजुङ
