समाचारशनिबार, मंसिर ३०, २०६९
धादिङमा प्रहरी र स्थानीय वासिन्दाबीच झडप
भारतबाट अवैध ढंगवाट ढुवानी गरेको आरोप लगाउंदै किसानले मासु बोकेका ट्रक नियन्त्रणमा लिएका हुन । नियन्त्रणमा लिएको मासु छुटाउन खोज्दा प्रहरी र धादिङका किसानहरुबीच भएको झडपमा प्रहरीले लाठी चार्ज गर्नुका साथै ६ सेल अश्रुग्यास हानेको छ ।
नेपाल भेटिनरी एसोसिएसनका महासचिव डा. शीतलकाजी श्रेष्ठले पशु क्वारेन्टाइनले मासु नष्ट गर्न भने पनि जर्बजस्ती काठमाडौं लैजान खोजेपछि किसानहरुले विरोध गरेको बताएका छन् । रेडियो राजमार्गका सम्वाददाता भुवन पौडेल प्रहरीको लाठी चार्जबाट घाइते भएका छन् ।
तीन वर्षअघि काठमाडौंमा शुरु भएको अनतराष्ट्रिय चेन रेष्टुरेन्ट केएफसीले त्यतिबेलादेखि नै नेपालमा उत्पादित कुखुरा अन्तराष्ट्रिय मापदण्ड पूरा नभएको भन्दै थाइल्याण्डबाट मासु आयात गर्दै आइरहेको जनाएको थियो । थाइल्याण्डबाट भनिए पनि भारतबाट कुखुराको मासु आयात गरेकाले आफूहरुले गाडि नियन्त्रणमा लिएको स्थानी कुखुरापालक किसानहरुको भनाई छ ।
कुखुरा उत्पादनमा नेपाली किसान आत्मनिर्भर भइसकेकोले विदेशबाट कुखुराको मासु ल्याउन नहुने भन्दै किसानहरुले मासु बोकेर ल्याएका भारतीय कण्टेनर एउटा २९ मंसीर राति र अर्को ३० मंसीर बिहान नियन्त्रणमा लिएका हुन् । काठमाडौंबाट गएको पशु क्वारेन्टाइनको टोलीले मासु नष्ट गर्न भने पनि स्थानीय प्रहरीले माथिको आदेश भन्दै मासु काठमाडौं पठाउन थालेपछि झडप भएको प्रत्यक्षदर्शीले जनाएका छन. ।
