समाचारआइतबार, पौष १, २०६९
एमाओवादीका तीनसय बढी मजदुर वैद्य माओवादीमा
नवप्रवेशीहरुलाई माओवादी सचिव नेत्रविक्रम चन्दले ललितपुरमा आयोजित एक कार्यक्रमबीच पार्टीमा स्वागत गरे । यसरी प्रवेश गर्नेमा एभरेष्ट होटल प्रतिष्ठानका अध्यक्ष होम सुवेदी, उपाध्यक्ष पूर्णमान लामा, सचिव राजु बरुवाल, अन्नपूर्ण होटल प्रतिष्ठानका उपाध्यक्ष रामशरण दुलाल, ललितपुर जिल्ला सेक्युरिटी मजदुर सङ्घका उपाध्यक्ष मनोज थापालगायत छन् ।
प्रवेशीलाई स्वागत गर्दै माओवादी सचिव चन्दले भने, “विदेशीको आड भरोसामा नेपाली जनताको भविष्य कुल्चेर शासन गर्छौं भन्ने सोच्नेहरु विरुद्ध आजको मजदुर विद्रोहले गतिलो झापड दिएको छ ।”
प्रवेशीहरुको तर्फबाट बोल्दै एभरेस्ट होटल प्रतिष्ठानका अध्यक्ष होम सुवेदीले एमाओवादी मजदुर सङ्गठनमा गुण्डागर्दी, भ्रष्टाचार र मालिकसँग मिलेर मजदुरहरु विरुद्ध षडयन्त्र गर्नेजस्ता कार्यहरु बढ्दै गएपछि आफूहरुले सो सङ्गठनबाट विद्रोह गर्नुपरेको बताएका थिए ।
