समाचारसोमबार, पौष २, २०६९
चौथो म्याद आज सकिंदै, प्रमुख दलहरु छलफलमै
पछिल्लो पटककको पाँच दिनको समयसीमा सकिन लाग्दा दलहरुबीच औपचारीक छलफल भने एकदिन पनि हुन सकेन । यसअघिको ६ दिनको समयसीमा पनि बिना कुनै औपचारिक छलफल सकिएको थियो । तर, पछिल्लो पटक अनौपचारिक र बेग्लाबेग्लै भएका दलका नेताहरुको छलफल सकारात्मक भएकोले सहमतिको सम्भावना बढेको नेताहरुले बताएका छन् । यसैबीच आज अन्तिम दिन दलहरुले औपचारिक छलफल गर्ने तयारी गरेका छन् ।
१ पुससम्म भएका अनौपचारिक छलफलबाट आएको निष्कर्षलाई आज प्रमुख चारशक्तिको बैठकमा प्रबेस गराउने नेताहरुले बताएका छन् । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज बेलुकासम्ममा प्रमुख चारशक्तिको बैठक गरेर सहमतिको प्रयास गरिने बताए । उनले छलफलको समय तय नभए पनि अनौपचारिक छलफलमा भएका सहमतिलाई तीन प्रमुख दल एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाको संयुक्त बैठकमा छलफल गरी निचोडमा पुगिने जानकारी दिए ।
१ पुसमा एकीकृत माओवादी अध्यक्ष दाहाल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला बसेर सहमतिको अनौपचारीक मस्यौदा तयार गरेको बुझिएको छ । सहमतिका लागि राष्ट्रपतिले पहिलो पटक मंसिर ८ गते १४ गते दोस्रो पटक र २२ गते तेस्रोपटक समय थप गरेका थिए ।
