समाचारमंगलबार, पौष ३, २०६९
यमीको नियुक्तिमा आफ्नो हात नरहेको प्रमको दाबी
शहरी विकास मन्त्रालयले ३ पुसमा सिंहदरवारमा गरेको पत्रकार सम्मेलनमा प्रधनामन्त्री डाक्टर भट्टराईले प्रक्रिया मिचेर केयुकेएलका पदाधिकारीमा आफ्ना नातेदारलाई नियुक्त नगरेको दावी गरे । उनले सञ्चारमाध्यमले आफ्नो तेजोबध गर्न समाचार सम्प्रेषण गरेको आरोप लगाए ।
प्रधानमन्त्री पत्नी हिसिला यमीको लामो समयसम्मको दबावमा हिसिलाकी दिदी तिमिला यमीलाई केयुकेएल सञ्चालक बोर्डको अध्यक्षमा २२ मंसीरमा नियुक्त गरिएको थियो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव किशोर थापाले वरिष्ठताको आधारमा यमीलाई अर्को व्यवस्था नभएसम्मका लागि सर्वसम्मत निर्णयबाट अध्यक्ष नियुक्त गरेको दाबी गरे । २० मंसीरमा बसेको बोर्डको बैठकले प्रयागलाल जोशीलाई अध्यक्षबाट हटाउने निर्णय गरेपछि कम्पनी सचिव मिलन शाक्यले राजीनामा दिइसकेका छन् ।
सात जना सञ्चालक रहने केयुकेएल निजी सार्वजनिक साझेदारी अवधारणा अनुसार २०६४ सालमा स्थापना भएको हो । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर उप–महानगरपालिका, नेपाल चेम्बर अफ् कमर्स, एशियाली विकास बैङ्का एक–एक जना प्रतिनिधि र २ जना स्वतन्त्र सञ्चालक केयुकेएलको बोर्ड सदस्य रहन्छन् ।
यसअघि २०६४ सालमा हिसीला यमीले भौतिक योजना तथा निर्माण मन्त्रालको जिम्मेवारी सम्हालेका बेलामा पनि केयुकेएल विवादमा परेको थियो ।
