समाचारमंगलबार, पौष ३, २०६९
राष्ट्रपतिद्वारा फेरि पाँच दिनको म्याद थप
यसअघि पटक पटक गरी राष्ट्रपतिले दिएको ३० दिनको समय व्यर्थै गुजारेका प्रमुख दलहरुले ३ पुस विहान शीतल निवास पुगी पाँच दिनसम्मको म्याद पुनः थप गर्न आग्रह गरेका थिए ।
सहमतिका लागि प्रमुख दलका नेताहरुलाई शीतल निवासमा बोलाएर र सार्वजनिक रुपमै पनि मौखिक आग्रह गर्दै आएका राष्ट्रपति यादवले गत ८ मंसीरमा लिखित रुपमै पहिलो पटक सात दिनको समयसीमा दिएका थिए । त्यसपछि १४, २२ र २८ मंसीरमा म्याद थपेका राष्ट्रपतिले थपिएको म्यादभित्र पनि दलहरुले सहमति गर्न नसकेपछि पुनः ७ पुससम्मका लागि ५ दिनको म्याद थपेका हुन् ।
पछिल्लो समयमा २ पुस विहान नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलमा त्यही दिन साँझसम्म सहमति हुने नेताहरुले बताएका थिए । तर, प्रधानमन्त्री बाबुराम भट्टराईको सरकार नछोड्ने अडानले सहमति विथोलिएको थियो ।
