समाचारबुधबार, पौष ४, २०६९
प्रधानमन्त्री पार्टीभन्दा माथि छैनन्: प्रवक्ता सापकोटा
४ पुसमा रिपोर्टर्स क्लबले राजधानीमा गरेको साक्षात्कारमा सापकोटाले पार्टीले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने निर्णय गरिसकेको सन्दर्भमा त्यसका विरुद्धमा कोही पनि जान नहुनेमा जोड दिए । सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री एवम. एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले कुर्सी छोड्न नचाहेको खबर आएका बेला प्रवक्ता सापकोटाले उक्त टिप्पणी गरेका हुन् ।
अब एक साताभित्रमै दलहरुबीच सहमति हुन नसके बैशाखमा निर्वाचन हुन नसक्ने भन्दै उनले मुलुक कहिल्यै निस्कन नसक्ने चक्रब्यूहमा फस्ने चेतावनी दिए । सापकोटाले विघटित संविधानसभाको उपलब्धिको स्वामित्व ग्रहण गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने र निर्वाचनको लागि संविधान संशोधन गर्ने विषयमा प्याकेजमै सहमति बनाउने विषयमा दलहरु सहमतिको नजिक पुगेको जानकारी दिंदै ८ पुसमा राष्ट्रपति भारत भ्रमणमा जानुअघि नै सहमति कायम हुनुपर्नेमा जोड दिएका थिए ।
एमाओवादीले चाहेजस्तो सहमति हुँदैनः विपक्षीहरु
सोही साक्षात्कारमा नेपाली कांग्रेसका नेता अर्जुन नरसिह केसीले कांग्रेसले सत्ताका लागि संविधान साट्न नसक्ने स्पष्ट पार्दै संविधानका अन्तर्वस्तुमा अहिले नै सहमति गरेर सरकारको नेतृत्व गर्ने पक्षमा पार्टी नरहेको बताए ।
नेता केसीले संविधानसभाले औपचारिक रुपमा पारित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको प्रतिबद्धता रहेको भन्दै चार वर्षमा हुन नसकेको सहमति चार दिनमा खोजेर नहुने धारणा राखे । उनले अहिले नै नयाँ बन्ने संविधानका अन्तर्वस्तुमा सहमति गर्दा त्यो भावि संविधानसभाको अपमान हुने तर्क गरे । नेता केसीले संवैधानिक नियुक्तिहरूमा पुरानैलाई निरन्तरता दिएर अघि बढ्नु पर्ने भन्दै अहिलेसम्मको विवाद जातीय वा साझा पहिचानयुक्त संघीयता मात्रै भएकोले विवादलाई जनमत संग्रहमार्फ समाधान गर्नु उत्तम विकल्प रहेकोमा जोड दिएका थिए ।
नेकपा एमालेका नेता रघुजी पन्तले अहिले नै अन्तर्वस्तुमा सहमति खोज्नु निर्वाचन नगर्ने षड्यन्त्र मात्र भएको दाबी गरे । संविधानसभाको हात खुट्टा बाँध्ने षड्यन्त्रमा एकीकृत माओवादी लागेको पन्तको आरोप थियो । प्रधानमन्त्रीमा दाबी गर्ने हैसियत एकीकृत माओवादी, कांग्रेस, एमाले र माओवादीलाई मात्रै भएको उल्लेख गर्दै पन्तले मधेशी वा साना दलको नेतृत्व भन्नु सहमतिको हलो अड्काउने दाहाल र भट्टराईको दाउ भएको बताए । उनले एमाले सुशील कोइरालाको नेतृत्वमा सहमतिको सरकार निर्माणको पक्षमा दृढ रहेको पनि बताएका थिए ।
