समाचारबुधबार, पौष ४, २०६९
सहमतीय सरकार बनाउने एमाओवादीको निर्णय
पार्टी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईका कारण सहमति बन्न नसकेको चर्चा चलिरहेको बेला आज ४ पुसमा बसेको पदाधिकारीले बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक निकासका लागि सहमतिको अर्को विकल्प नरहेकाले कांग्रेस एमालेसंग हदैसम्मको लचकता अपनाउने निर्णय गरेको जानकारी दिए ।
बैठकमा सबै व्युरो इन्चार्जहरुलाई बोलाइएपनि संगठन इन्चार्ज रहेका डाक्टर भट्टराई भने बैठकमा उपस्थित भएनन् ।
सापकोटाले सहमतिको सरकार बनाउने निर्णयलाई जसरी पनि पार्टीले कार्यान्वयन गर्ने पनि बताए ।
सहमति सरकार गठन गर्ने विषयलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने तर्क प्रधानमन्त्री पक्षले अगाडि सारेपछि एकीकृत माओवादीमा विवाद देखिएको छ । सहमतिको सरकारको नेतृत्वका लागि प्रतिपक्षी दलहरूले कांग्रेस सभापति सुशील कोइरालालाई साझा उम्मेद्वारका रूपमा अगाडि सारे पनि एकीकृत माओवादीले भने स्वीकार गर्न सकेका छैन ।
