समाचारबिहीबार, पौष ५, २०६९
भट्टराईले फेरि भने, ‘राजीनामा दिन्न’
सरकारी निवास बालुवाटारमा ५ पुसमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आगामी बैशाखमा हुने भनिएको संविधानसभाको निर्वाचन मिति आफूले नै घोषणा गर्ने र केही दिनका लागि वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने बताए । “मैले पहिलेदेखि नै निर्वाचनको मिति घोषणा गर्ने, संविधानका बाधा अड्चन फुकाएर निर्वाचन गर्ने वातावरण यही सरकारले बनाउने र केही दिनका लागि कांग्रेस एमाले आएर वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिउँ भनेको हुँ,” प्रधानमन्त्री भट्टराईले भने, “पहिले दलहरुबीच यही विषयमा छलफल भइरहेको हो, अहिले मलाई नै सहमतिको बाधक भनियो ।” उनले आफूलाई सहमतिको बाधक भनिनुको कुनै आधार नभएको पनि दाबी गरे ।
भट्टराईले संविधानसभाको चुनावको सुनिश्चित्ता आफ्नो सफलता र असफलतासँग जोडिएको जिकिर गर्दै थपे, “सनक र आवेगमा राजीनामा दिने कुरै आउँदैन ।” यसअघि आफूले राजीनामा पत्र खल्तीमा राखेर राष्ट्रपतिलाई बुझाउन गएको तर, राष्ट्रपतिले नलिएको भन्ने प्रचार गरेका प्रधानमन्त्रीले अर्को दाबी गरे, “मंसीर ७ गते मैले अध्यक्ष प्रचण्ड कमरेड र अरु नेताहरुसँग छलफल गरेर नै राजीनामा दिन लागेको थिएँ, त्यतिवेला सत्ता गठबन्धन र पार्टीले नै रोकेको हो ।”
उनले यदि दलहरुबीच सहमति नभएमा तेस्रो धारको व्यक्तिलाई नेतृत्व दिएर पनि आगामी बैशाखमा निर्वाचन गराउनुपर्ने धारणा राखे । तर, त्यो तेस्रो धार भनेको को हो भन्ने बारेमा खुलाएनन् ।
भट्टराइले आफूलाई फिर्ता बोलाउने ‘आलोकाँचो’ निर्णय पार्टीले गर्न नसक्ने पनि बताए । उनलाई पार्टीले फिर्ता बोलाउन सक्नेबारे चर्चा भइरहेका बेला यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री भट्टराईले आफू र अध्यक्ष पुष्पकमल दाहालबीच प्याकेजमा सहमति र राष्ट्रिय सरकार निर्माणका विषयमा मतभेद नभएको समेत दाबी गरेका छन् ।
