समाचारबिहीबार, पौष ५, २०६९
‘हासमीको परिवारमाथि अनुसन्धान आवश्यक’
उक्त घटनाबारे आयोगले तयार पारेको स्थलगत जाँचबुझ प्रतिवेदन ५ पुसमा सार्वजनिक गरेको हो । बर्दियाकी हासमीलाई गत २३ मङ्सिरमा आगो लगाइएपछि उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो ।
आयोगका प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा गएको टोलीले लिएको मृतक हासमीको दुई ठाउँको मौका बयान, मृतककी आमा हसिना तथा अस्पतालका डाक्टर र नर्स टोलीसमक्ष गरेको बयान फरक फरक रहनाले घटनालाई रहस्यमय बनाएको प्रतिवेदनमा उल्लेख छ । प्रवक्ता अन्सारीले प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउन अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्ने तथा बाबु खान र मृतक हासमी दुवैको परिवारतर्फ अनुसन्धान हुन आवश्यक रहेको जानकारी दिइन् ।
टोलीले पाँच प्रत्यक्षदर्शी, प्रेमी खान, मृतकका परिवार, स्थानीय प्रशासन र नागरिक समाजसँग कुरा गरेको अन्सारीले बताइन् । उनले भनिन्, “मृतक हासमी घरभित्रबाटै जलिरहेको अवस्थामा चिच्याउँदै बाहिर निस्किएको भन्ने एकथरिको बयान आएको छ भने अर्काथरिको घर बाहिर आगो लगाएको भन्ने बयान आएको छ, यसले घटनालाई थप शङ्कास्पद बनाएको छ ।”
आरोपित प्रेमी खानले आयोगको टोलीसँगको बयानमा मृतक हासमी आफ्नो प्रेमिका भएको र घटनाअघि आफूसँगको कुराकानीमा हासमीले आफूलाई परिवारले मार्न खोजेको बताएका छन् । घटनापछि प्रहरीले मृतक हासमी र खान दुवैको मोबाइल टेलिफोनको एसएमएस मेटाउनु तथा प्रेमी खानतर्फमात्रै एकतर्फी अनुसन्धान अगाडि बढाउनाले प्रहरीको अनुसन्धान फितलो देखिएको प्रवक्ता अन्सारीले उल्लेख गरिन् ।रासस
