समाचारशुक्रबार, पौष ६, २०६९

बैंक अफ काठमाडौंको तुलसीपुर शाखा लुटियो

हिमालखबर

६ पुस साँझ करिब ६ बजे तीन जना हतियारधारीको समूहले बैंकका कर्मचारीलाई नियन्त्रणमा लिई १ करोड ९५ लाख रुपैयाँ लुटेर भागेको बैंकका कर्मचारीले प्रहरीलाई बताएका छन् ।

घटनास्थलमा अनुसन्धानका लागि खटिएका प्रहरी निरीक्षक गणेश शाहका अनुसार बैंकमा एकजना म्यानेजर, एकजना क्यासियर र गार्डमात्रै रहेका बेला ग्राहक बनेर आएका ती युवाहरुले पेस्तोल देखाई कर्मचारीहरुलाई एउटा कोठामा थुनेर ‘सेभ’ बाट रकम लुटेर लगेको म्यानेजर ऋषिकैलाश श्रेष्ठले बताएका छन् ।

तर, घटना रहस्यमय भएको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले हिमाल खबरलाई बताए । “एक करोड ९५ लाख रुपैयाँ करिब ३६ किलो बराबर हुन्छ, त्यो एउटा सानो ब्यागमा अटाउँदैन र सजिलै बोक्न पनि सकिंदैन ।” शाहले भने, “उनीहरु कसरी आएर कसरी भागे लगायत धेरै विषयमा कर्मचारीले स्पष्ट बताउन सकिरहेका छैनन् ।”

अञ्चल प्रहरी कार्यालय तुलसीपुरका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) घनानन्द भट्टले घटनासम्बन्धमा अनुसन्धान भइरहेको र प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्ल सहितको टोली घटनास्थलमा खटिएको बताए । घटना भएको करिब दुई घण्टापछि मात्रै प्रहरीलाई खबर गरिएको भन्दै एसएसपी भट्टले ब्यांकमा रहेको सिसिटिभीको ‘फूटेज’ पनि नदेखाइएकाले घटना रहस्यमय भएको बताएका छन् । उनले भने, “भिडभाड हुने बजारमा त्यसरी बैंक लुटिएको घटना सजिलै पत्याउन गाह्रो छ, हामी अनुसन्धान गर्दैछौं ।”

तुलसीपुरको बीपी चोक नजिकै सघनबस्तीमा रहेको बैंक लुटिंदा पनि छिमेकीलगायत कसैले थाहा नपाउनु र प्रहरीलाई दुई घण्टापछि मात्रै खबर गरिनुले घटना रहस्यमय बनेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>