समाचारआइतबार, पौष १५, २०६९

दलहरुले भने, ‘२५ गतेभित्रै सहमति गर्छौं’

हिमालखबर

एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका नेताहरुले राष्ट्रपतिसँग दुई चरणमा वर्तमान राजनीतिक–संवैधानिक संकटबाट मुलुकलाई निकास दिने प्रतिबद्धता जनाएपछि राष्ट्रपतिले पुस २५ सम्मको म्याद तोकेका छन् ।

राष्ट्रपतिसँगको भेटमा नेताहरुले पहिलो चरणमा राष्ट्रपतिबाट पाँच दिन म्याद थपिएपछि प्याकेजमा सहमति गर्ने र दोस्रो चरणमा संविधान संशोधन लगायतका विषय टुंग्याएर सहमतिको सरकार गठन गर्ने बताएका हुन् ।

भेटपछि मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारले २५ पुसभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे । उनले भने, “२५ गतेभित्र सबै कुरा सल्टाउन सहमत भएका छौं, प्रधानमन्त्री को हुने भन्ने प्रष्ट भएपछि सबै कुराको समाधान हुन्छ ।” त्यस्तै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले जटिलता धेरै भए पनि सहमतिमा पुग्न कोशिश गर्ने प्रतिक्रिया दिए । उनले भने, “अहिलेलाई पाँच दिन म्याद थप्न राष्ट्रपति ज्यूसँग आग्रह गर्‍यौं ।”

राष्ट्रपतिले ६ पटक गरी ३५ दिनको म्याद दिंदासमेत दलहरु सहमतिमा नपुगेपछि अब सरकार गठनका लागि फरक प्रक्रियाको थालनी हुनसक्ने शीतल निवास स्रोतले जनाएको छ । राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरुलाई पहिलो पटक गत ८ मंसीरमा आह्वान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>