समाचारआइतबार, पौष २२, २०६९
काठमाडौँ उपत्यकामा यस वर्षकै बढी चिसो
उपत्यकामा २२ पुसमा यसवर्षकै बढी चिसो भएको र तत्कालै पानी पर्ने सम्भावना नरहेकाले चिसो अझै बढ्ने मौसमविद् राजेन्द्र श्रेष्ठले बताए। उनले देशका तराईका जिल्लाबाहेक सबै स्थानमा जाडो बढेको पनि बताए ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको आजको न्यूनतम् तापक्रम ०.२ डिग्री सेल्सियस र अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म रहेको छ ।
चिसोले जनजीवन प्रभावित, तीनजनाको मृत्यु
विगत तीन सातादेखि निरन्तर चलिरहेको बाक्लो हुस्सु र शीतलहरका कारण बुटवल क्षेत्रका जिल्लाहरुको जनजीवन थप कष्टकर बन्दै गइरहेको छ ।
चिसोले कठ्याङ्ग्रिएर रुपन्देहीमा अहिलेसम्म तीनजनाको मृत्यु भएको छ भने अत्यधिक चिसोका कारण बढी मात्रामा बालबालिका, वृद्धवृद्धा प्रभावित भएका छन् । यहाँको तापक्रम पनि निकै कम छ ।
रुपन्देहीमा २२ पुसमा यस वर्षको सबैभन्दा चिसो महसुस गरिएको छ । रुपन्दहेहीको आजको अधिकतम तापक्रम ९.५ डिग्री र न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ ।
दमजस्ता श्वासप्रश्वाससम्बन्धी समस्या, रुघाखोकी, निमोनिया, भाइरल ज्वरोलगायतका बिरामीको सङ्ख्या यहाँका अस्पतालहरुमा ह्वात्तै बढेको चिकित्सकहरुले जनाएका छन् ।
अधिकांश समय बाक्लो हुस्सु र शीतलहरले दिउँसै बत्ती बाल्नुपर्ने अवस्था सिर्जना हुनुका साथै यहाँका राजमार्गहरुमा सवारी दुर्घटनामा पनि वृद्धि भएको छ । हवाई उडान पनि निरन्तर प्रभावित भइआएका छन् ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थल कार्यालयका अनुसार बिहान साँझ दृश्यक्षमता ९भिजिबिलिटी० कम हुनाले दिउँसो मात्र केही उडान हुने गरेको छ भने विगतमा भन्दा आधा उडान कम गर्नु परेको छ । यस्तै बाक्लो हुस्सु र शीतलहरका कारण यहाँको कृषि क्षेत्रमा पनि प्रत्यक्ष असर परेको किसानहरुले बताएका छन् ।
गहुँ, जौ, आलु, तोरी, मसुरो, अडहरलगायतका तेलहन र दलहन बालीमा शीतलहरका कारण विभिन्न रोग लाग्नुका साथै उत्पादन घट्ने स्थिति सिर्जना भएको कृषि विकास कार्यालयले जनाएको छ । रासस
