समाचारमंगलबार, पौष २४, २०६९
चिसोले सप्तरीमा एकैदिनमा १० जनाको मृत्यु
ग्रामिण भेगमा बसोबास गर्ने, गरिव, बालबालिका र बृद्धबृद्धाहरुलाई जाडोले अधिक प्रभाव परेको छ । सहयोगी संघ–संस्थाहरु शहर केन्द्रीत हुँदा सुदुर गाउँमा बस्नेहरु दाउरा, कम्बल जस्ता न्यानो पार्ने सामाग्रीको अभावमा कठ्याङ्ग्रिएर मर्न बाध्य छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी, रेडक्रस, मारबाडी सेवा समिति लगायतका संघ–संस्थाले सदरमुकाम राजविराजमा मात्रै दाउरा र कम्बल बितरण गर्दै आएका छन् ।
जाडोका कारण २३ पुसमा मात्रै १० जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको मधवापुर– ५ का रधियादेवी सदा, पिप्रापूर्व– ९ का
५५ बर्षीय भोला खंग खत्बे, बनौली–२ का ५५ बर्षीय कारी राम, ६० बर्षीय छपकीदेवी राम, कल्याणपुर–२ का ६५ बर्षीया
भुसनीदेवी सदा, ८ का ५५ बर्षीया घुरनीदेवी सदा, दौलतपुर– ३ का ६४ बर्षीय रामेश्वर मण्डल र सोही ठाउँका ७५ बर्षीय सुखेर राम, रुपनगर– ७ का ५६ बर्षीय पुलकित सरदार, वैरवा– ५ का ६० बर्षीय रौधी यादवको एकै दिन ज्यान गएको छ ।
यसअघि एक साताभित्रै जिल्लाका अन्य १० जनाको जाडोकै कारण मृत्यु भइसकेको छ । कठ्याङ्ग्रिएर मृत्यु हुनेहरुमा अधिकांश बृद्धबृद्धाहरु छन् । केही समयदेखि चलेको शीतलहरले बजारमा चहलपहल घटेको छ भने सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको आवागमन पनि ह्वात्तै घटेको छ । सरकारी कार्यालयमा कर्मचारी ढिलो आउने र चाँडै जाने गरेका छन् ।
जाडोकै कारण अस्पताल तथा स्वास्थ्य चौकीहरुमा बिरामीहरुको भिंड बढ्न थालेको छ । सगरमाथा अंचल अस्पताल अस्पतालका अनुसार कोल्ड डायरिया, रुघाखोकी, निमोनियासहितका बिरामीहरु बढ्न थालेका छन् । अहिले दैनिक दर्जनौं बिरामी भर्ना हुन थालेको अस्पतालले जनाएको छ ।
शितलहरसँगै अत्यधिक जाडो बढेपछि सप्तरीका विद्यालयहरु आगामी २९ पुससम्मका लागि बन्द गरिएको छ । शिक्षक यूनियनले पुस २३ गतेसम्मका लागि जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गरेको भएपनि शितलहर नथामिएकाले विद्यालय बन्दलाई निरन्तरता दिएको छ । यस्तै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) को २४, पुसमा बसेको आकस्मिक बैठकले २९ पुससम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
श्रवणकुमार देव, सप्तरी



