समाचारसोमबार, माघ १, २०६९
लोकतन्त्र बचाउने जिम्मेवारी दलहरुकै: राष्ट्रपति
गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल गुल्मीको रुरु क्षेत्रमा दर्शनका लागि माघेसंक्रान्तिको अवसर पारेर आएका राष्ट्रपतिले २००७ सालदेखिकै परिवर्तनहरुलाई संस्थागत गर्न नसक्दा मुलुक पछि परेको भन्दै थपे, “परिवर्तनहरु त धेरै पटक भए, अब ति परिवर्तनहरु जोगाउनु जरुरी भएको छ । ”
दलहरुको सहमतिमा मात्रै निकास सम्भव भएकोमा जोड दिंदै राष्ट्रपतिले भने, “मैले देश बुझेको छु, दलहरु सहमतिमा आउनु जरुरी छ ।” दलहरुले चाडै नै सहमति जुटाई ताजा जनादेशमा जानुको विकल्प नभएको स्पष्ट पार्दै उनले गणतन्त्र र लोकतन्त्रलाई संस्थागत गर्दै देश विकासको जनचाहनालाई मुख्य मुद्दा बनाएर ताजा जनादेशमा जानु जरुरी भएकोमा जोडदिए ।
राष्ट्रपति यादवले कालीगण्डकी स्नानगरी ऋषिकेश एवम् रुरु कन्याको दर्शन पनि गरेका छन् ।
रिडीमा माघे संक्रान्तिको अवसरमा ठूलो मेला लागेको छ । यसदिन कालिगण्डकीमा स्नान गरेमा पूण्यप्राप्त हुने लोकविश्वास रहिआएको छ ।
गगनशिला खड्का, गुल्मी

