समाचारबुधबार, माघ ३, २०६९
‘निकासका लागि भट्टराईको राजीनामा’
२ माघमा राजधानीमा सम्पन्न महाधिवेशनको निर्णयबारे जानकारी दिन ३ माघमा प्रज्ञा भवनमा आयोजित पत्रकार सम्मेलनमा नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले ‘विदेशीको इसारामा चलेको कठपुतली’ सरकारले मुलुकलाई निकास दिन नसक्ने भन्दै भट्टराईले राजीनामा दिनुपर्ने बताए । एमाओवादी नेतृत्वले जनतालाई धोका दिएकाले आफूहरुले नयाँ पार्टी खोल्नु परेको उनको भनाई छ ।
महाधिवेशनको निर्णयबारे जानकारी दिँदै महासचिव रामबहादुर थापाले दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तलाई पक्राउ गर्नु शान्ति सम्झौता विपरीत भएको दाबी गरे । समस्या समाधान गर्न भन्दा पनि निहुँ खोज्नका लागि थापा हत्या प्रकरण अघि बढाइएको माओवादीको ठहर छ ।
महासचिव थापाले अनमिनको प्रमाणिकरणबाट अयोग्य घोषित पूर्व लडाकुहरुको माग पूरा गर्नुपर्ने तथा द्वन्द्वकालमा जागिर छाडेकाहरूलाई पुनर्बहाली गर्नुपर्नेमा जोड दिए ।
नयाँ कार्यसमिति, पुरानै अनुहार
गत असारमा एमाओवादीबाट विभाजित भएर बनेको नेकपा–माओवादी महाधिवेशनले पाँच सदस्यीय स्थायी समिति, १३ सदस्यीय पोलिटब्यूरो र ५१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । मोहन वैद्यको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सिपि गजुरेल, महासचिव रामबहादुर थापा र सचिवहरुमा देव गुरुङ र नेत्रविक्रम चन्द रहेका छन् । पोलिट्ब्यूरोमा पाँच पदाधिकारीसहित हरिभक्त कँडेल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, इन्द्रमोहन सिग्देल, नारायण शर्मा, धर्मेन्द्र बास्तोला र खड्कबहादुर विश्वकर्मा छन् ।
सन्त गाहा मगर
