समाचारबिहीबार, माघ ४, २०६९
बारमा हरिकृष्ण कार्की बिजयी (अपडेट)

बार एसोसिएशनको अध्यक्षमा निर्वाचित भएपछि हरिकृष्ण कार्की (बायाँ) अन्य पदाधिकारीहरु सहित । तस्बीर: हिमालखबर
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको २३ औं केन्द्रीय कार्यसमितिका लागि २८ पुसमा सम्पन्न निर्वाचनको परिणाम अनुसार हरिकृष्ण कार्की निकटतम प्रतिद्वन्द्वी शेर बहादुर केसीलाई ७५ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका छन् । कार्कीले ३ हजार २ सय ५७ मत पाए भने केसीले ३ हजार १ सय ८२ मत प्राप्त गरे ।
कार्कीले प्रगतिशिल एवम् गणतान्त्रिक समूहको तर्फबाट उम्मेदवारी दिएका थिए भने शेरबहादुर केसीलाई लोकतान्त्रिक समूहको समर्थन थियो ।
त्यस्तै महासचिवमा लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेल र कोषाध्यक्षमा मोहन इङनाम बिजयी भएका छन् । ४ माघ साँझ सम्पन्न मतगणनाको परिणाम अनुसार अध्यक्षसहित ८ स्थानमा प्रगतिशिल एवम् गणतान्त्रिक समूह विजयी भएको छ भने महासचिव सहित ९ स्थानमा लोकतान्त्रिक समूह बिजयी भएको छ ।
यसमध्ये पाँच उपाध्यक्ष पदका लागि भएको जनक पाण्डे (पूर्वाञ्चल), टिकाराम भट्टराई (मध्यमाञ्चल), अनिता गुरुङ (पश्चिमाञ्चल), पदमप्रसाद बैदिक (मध्यपश्चिमाञ्चल) र राजेनद्र साउद (सुदुरपश्चिमाञ्चल) विजयी भएका छन् । पूर्वाञ्चल बाहेक चारवटै क्षेत्रका उपाध्यक्ष प्रगतिशिल एवम् गणतान्त्रिक समूहका हुन् ।
सदस्यहरुमा राजेन्द्र शंकर, गणेशप्रसाद अधिकारी, सागर विष्ट, प्रसन्नकृष्ण दास, विनिता कार्की, लक्ष्मीदेवी दाहाल रावल, केदारप्रसाद कोइराला, सरस्वती श्रेष्ठ र राज्यलक्ष्मी शाक्य विजयी भएका छन् । विजयी सदस्यमध्ये ६ जना शंकर, अधिकारी, विष्ट, दास, कार्की र रावल लोकतान्त्रिक समूहका हुन् भने तीन जना कोइराला, श्रेष्ठ र शाक्य प्रगतिशिल समुहका हुन् ।
