समाचारशनिबार, माघ ६, २०६९

देशैभरी वर्षा, किसानहरु खुशी

हिमालखबर

देशभर नै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ५ माघमा काठमाडौंमा ११.३ मिलिमिटर पानी परेको छ त्यसैगरी सबैभन्दा बढी डडेल्धुरामा ९५.४ मिलिमिटर पानी परेको छ । जुम्लामा ८२.२ मिलिमिटर पानी परेको छ । पूर्वका धेरै ठाउँमा ६ माघ विहान पानी परिरहेको थाहा भएको छ । झापा, बर्दीबास लगायतका स्थानमा पानी परिरहेको त्यहाँका सहकर्मीहरुले जनाएका छन् ।

मौसममा बदलीसँगै उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बाजुरा, बझाङ, अछाम, कालिकोट, मुगु, हुम्ला, मनाङ, संखुभासभा लगायत ठाउँमा हिमपातले जनजीवन कष्टकर बनाएको छ । ढिलो गरी शुरु भएको हिउँदे बर्षा आजसम्म कायम रहने मौसमविद राजाराम ढकालले जानकारी दिएका छन् । दिउँसोपछि भने पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुने अनुमान छ ।

किसानहरु खुशी
लामो समयदेखि पानी नपरेर हिउँदेबाली सप्रिन नसकेका बेला मेघगर्जनसहित वर्षा भएपछि किसानहरु खुशी भएका छन् । पानी नपाएर गहुँ, दालबाली र तेलनबालीसमेत कक्रिएका बेला गएराति परेको पानीले निक्कै राहत दिएको किसानहरूको भनाइ छ । पछिल्लो वर्षाले केहीदिनअघि रोपिएको उखु, तरकारी र फलफूललाई फाइदा भएको छ । गहुँबाली, तरकारी बाली र चिया उत्पादक किसानलाई समेत फाइदा पुगेको झापाका एक किसानले बताए । मङ्सिर र पुसमा गरी दुईपटक शीतलहरको मार खेपेका तराईका बासिन्दाले वर्षासँगै आज सखारै पारिलो घाम लागेकाले खुशीयाली मनाएका छन् ।

त्यस्तै हिउँदे वर्षाले वनक्षेत्र र पर्ति जमिनमा घाँस उम्रने आसले पशुपालक किसान पनि दङ्ग परेका छन् । यसले वातावरणमा स्वच्छता ल्याउने विज्ञहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>