समाचारशनिबार, माघ ६, २०६९
संविधानमै चन्दा नलिने ब्यवस्था गरियोसः वैद्य
ऋणको चर्को व्याज, लोडसेडिङ्ग र चन्दा आतङ्कले उद्योगी–ब्यबसायीहरु मारमा परेको अध्यक्ष सुरज वैद्यले बताएका छन् । मकवानपुर उद्योग बाणिज्य संघको ४६ औं वार्षिक साधारणसभा उद्घाटन गर्न ६ माघमा हेटौंडा आएका बैद्यले भने, “ चन्दाबाटै भ्रष्टाचार शुरु हुन्छ, भ्रष्टाचार रोक्न २५ हजारभन्दा बढी चन्दा लिन नपाउने कानून बनाउनु जरुरी छ ।”
निजी क्षेत्रको आर्थिक पारदर्शिता खोज्ने राजनितिक दलहरुले आफ्नो हिसाब पनि पारदर्शी बनाउन उनले चुनौति दिए ।
देशको बिकासका लागि राजनीतिक दलहरुले आर्थिक मुद्दातर्फ ध्यान दिनु जरुरी रहेको भन्दै उनले ब्यवसायीहरु लगानी गर्न तयार रहे पनि राजनीतिक वातावरण अनुकुल नरहेको गुनासो गरे । अध्यक्ष बैद्यले राजनीतिक पार्टीले उद्योगी ब्यवसायीका समस्या हल गर्देलान भनेर सोच्नु अहिलेको अबस्थामा ठूलो भूल हुने टिप्पणी गर्दै आफ्ना समस्या समाधानका लागि उद्योगी ब्यवसायीहरु नै एकजुट हुन पनि आग्रह गरे ।
बैद्यले आर्थिक विकासलाई मुख्य एजेण्डा बनाएर राजनितिक समस्या समाधान गर्नतर्फ दलहरु लाग्नुपर्ने सुझाव पनि दिएका थिए ।
अशोक सुजन श्रेष्ठ, हेटौंडा
