समाचारआइतबार, माघ ७, २०६९
आन्दोलनबाटै सरकारलाई विस्थापित गरिने छः नेका
कांग्रेस केन्द्रीय कार्यसमितिको २७ माघमा बसेको बैठकले वर्तमान सरकार राष्ट्रिय सहमतिको बाधक भएको भन्दै जनपरिचालनबाटै सरकार विस्थापन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । बैठकले यही माघको दोस्रो सातासम्म राष्ट्रिय सहमति बन्न सके आगामी जेठको दोस्रो सातासम्म संविधानसभाको निर्वाचन सम्पन्न गर्न सकिने निष्कर्षसमेत निकालेको छ ।
सरकार र सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहमतिका लागि तयार नदेखिएको भन्दै कांग्रेसले सरकारविरुद्ध व्यापक जनपरिचालन गर्ने ठहर गरेको प्रवक्ता बडुले जानकारी दिए । उनले भने, “एमाओवादी बाह्रबुँदे सहमतिलगायत दलहरूबीच विगतमा भएको सहमति र सम्झौतालाई लत्याएर एकलौटी ढङ्गले अगाडि बढ्न लागेको ठहर बैठकले गरेको छ, उसलाई सहमतिमा ल्याउन समेत जनपरिचालन नै उत्तम विकल्प भएको ठहर गरिएको छ ।”
यसैगरी बैठकको नेपाल महिला सङ्घ र नेपाल तरुण दलका विधान परिमार्जनसहित पारित गरेको छ । यस्तै नेपाल आदिवासी जनजाति सङ्घको विधान पनि परिमार्जनसहित पारित गरिएको छ ।
नेपाल आदिवासी–जनजाति सङ्घलगायत विभिन्न संस्थाले ज्ञापनपत्रमार्फत प्रस्तुत गरेको सुझावलाई समावेश गरी विधान पारित गरिएको हो । गत असार ७ गते तत्कालीन केन्द्रीय सदस्य भीमबहादुर तामाङको संयोजकत्वमा गठित सुझाव समितिले पेस गरेको प्रतिवेदनसमेत पारित गरी सो प्रतिवेदनको स्वामित्व ग्रहण केन्द्रीय समितिले गरेको छ । यस्तै नेपाल दलित सङ्घको म्याद आगामी फागुन मसान्तसम्म थप गरिएको छ ।
