समाचारसोमबार, माघ ८, २०६९
यातना दिने एघार कैदी स्थानान्तरण

यातना दिने पुराना कैदीहरुलाई बसबाट पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का लगिंदै । तस्बीरः ज्ञानेन्द्र खड्का
प्रहरीको सुरक्षाघेराबीचमा कारागारका पुराना कैदीले नयाँ कैदीलाई चरम शारीरिक यातना दिएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानविन समितिको सिफारिस वमोजिम् ती कैदीहरुलाई ८ माघमा प्रहरीले क्षेत्रीय कारागार झुम्का लगेको हो ।
भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातिको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदन अध्ययनपछि कारागार विभागले भोजपुर कारागारमा नयाँ थुनुवालाई शृंखलावद्ध यातना दिने काममा संंलग्न चौकीदार शान्तकुमार राईसहितका ११ जना कैदीहरुलाई क्षेत्रीय कारागारमा स्थानान्तरण गर्न निर्देशन दिएको थियो । “हामीले गरेको छानविनबाट नयाँ कैदीलाई चौकीदारसहितका पुराना कैदीले शारीरिक यातना दिएको हो भन्ने निष्कर्ष आएको छ ।” सहायक प्रजिअ मग्रातीले भने, “यातना दिने काममा संलगन चौकीदारसहितका ११ जना कैदीलाई क्षेत्रीय कारागारमा सार्ने निर्देश अनुसार सोमबारै क्षेत्रीय कारागार झुम्का चलान गरिएको हो ।”
अदालत र जिल्ला प्रशासनले सजाय तोकेपछि कारागार ल्याएकामध्ये कर्तव्यज्यानमा जेल परेकालाई बाहेक उनीहरुले शारीरिक यातना दिने गरेका थिए । बलात्कार, बलात्कार प्रयास, चोरी, डकैती लुटपाटजस्ता मुद्दामा जेलमा आएका नयाँ कैदीलाई पुराना कैदीहरुले गाली गर्दै नाङ्गै बनाएर पानीमा चोब्दै यातना दिएपछि कपाल काटिदिने गरेका थिए । यातनापछि कसैको उपचार पनि हुँदैनथ्यो । कर्तब्य ज्यान मुद्दामा सजाय भोग्नेहरुलाई भने उनीहरुले ‘बहादुर’ भन्दै केही नगर्ने एकजना कैदी बताउँछन् । यातनाबारे पत्रकार र मानवअधिकारकर्मीले जानकारी माग्दा प्रहरी र जेल प्रशासनले कुनै विवरण दिन मान्ने गरेको थिएन ।
क्षेत्रीय कारागार पठाइएका कैदीहरुमा चौकीदार शान्तकुमार राई, नाइके राजन राई तथा अन्य कैदीहरु सञ्जय राई, सञ्चकुमार राई, पासाङ्गनिमा शेर्पा, बुद्धिमान पाँचकोटी, जयबहादुर थिङ्ग, सूर्यकुमार राई, अर्जुन राई र दिलबहादुर विष्ट रहेका छन् ।
ज्ञानेन्द्र खड्का, भोजपुर
