समाचारमंगलबार, माघ ९, २०६९
बिहारमा जस्तो सरकार चलाउन पाए परिणाम देखाउनेछु, नभए गोली हान्दिनु: प्रधानमन्त्री
प्रधानमन्त्री भट्टराईले आफ्नो व्यक्तिगत ट्वीटर अकाउण्ट @brb_laaldhwoj मा एकजना ‘फलोअर’ ओमभक्त उप्रेतीको जवाफमा आफूले त्यसो गर्न नसके गोली हान्दिनु (shoot me) पनि भनेका छन् । उनले ९ माघमा करिब पौने चार बजे गरेको ट्वीटमा आफूलाई बिहारको जस्तै एउटै पार्टीको बहुमतको सरकार ५ वर्ष चलाउन दिएमा परिणाम देखाउने र त्यसो गर्न नसके “मलाई गोली हान्नु युवा साथी” भनेका हुन् । त्यसअघि प्रधानमन्त्रीले ‘आशावादी बन्नु पर्ने पाँच कारण’ भन्ने ट्वीट गरेका छन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदिप पाण्डेले उक्त ट्वीटर अकाउण्ट प्रधानमन्त्रीको सक्कली भएको र प्रधानमन्त्री आफैंले ट्वीट गर्ने गरेको हिमालखबरलाई बताए । चार हजार ३१ जनाले फलो गरेको उक्त ट्वीटर अकाउण्टले सात जनालाई फलो गरेको छ भने जम्मा १३ वटा ट्वीट गरेको छ ।
