समाचारबुधबार, माघ १०, २०६९
दैलेखमा प्रधानमन्त्रीलाई रोक्ने तयारी
७ विपक्षी दलले १० माघ दिनभर सदरमुकाम र दिउँसो २ बजेदेखि ४ बजे सम्म यातायात र बन्द गरी प्रदर्शन शुरु गरेका छन् । सदरमुकामका अधिकांश घरहरुमा प्रधानमन्त्रीको विरोधमा कालो झण्डा ठड्याइएको छ भने ठाउँ ठाउँमा रुख ढालेर सदरमुकाम आउने नाका समेत बन्द गरिएको छ ।
एमालेका जिल्ला अध्यक्ष अम्मरबहादुर थापाले प्रधानमन्त्रीले जबरजस्ती प्रवेश गर्न खोजे संयुक्त अवरोध गर्ने बताए । त्यस्तै एकीकृत नेकपा माओवादीले पनि आफ्ना कार्यकर्ताहरु जिल्लामा पुर्याएको छ । छिमेकी जिल्लाबाट समेत नेताहरुको सुरक्षाका लागि भन्दै सयौं कार्यकर्ता दैलेख पुगेको एकीकृत माओवादीले जनाएको छ । जिल्ला सम्मेलन उद्घाटनका लागि आज प्रधानमन्त्री भट्टराईका साथै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवं उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु दैलेख पुग्ने कार्यक्रम छ ।
दुईपक्षबीच झडप हुनसक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा कडा पारेको छ भने सुर्खेतबाट समेत प्रहरीको टोली सुरक्षाका लागि दैलेख पुगेको छ ।
