समाचारबुधबार, माघ १०, २०६९

दैलेखमा एमाओवादी कार्यालयमा आगजनी (अपडेट)

हिमालखबर

विपक्षी दलहरुको प्रदर्शन र प्रधानमन्त्रीको उपस्थितिमा एनेकपा माओवादीको जिल्ला अधिवेशनका बीच दैलेख सदरमुकाम १० माघ दिनभर नै तनावपूर्ण बनेको छ ।

शान्तिपूर्णरुपमा कालो झण्डा देखाइरहेका आफ्ना कार्यकर्तामाथि प्रहार हुनुका साथै प्रहरीले हवाई फायर र लाठिचार्ज गरी घाइते बनाएको भन्दै विपक्षी दलका कार्यकर्ताहरुले एमाओवादी जिल्ला कार्यालयका फर्निचर र कागजत सडकमा ल्याएर  जलाएका हुन् ।
बिहानैदेखि प्रधानमन्त्रीविरुद्ध प्रदर्शन शुरु गरेका विपक्षी दलहरु र प्रतिकारमा खटिएका एमाओवादी (वाईसिएल) कार्यकर्ताबीच दिनभर पटक पटक भएको झडपमा प्रहरीले ६ राउण्ड हवाई फायर र करिब ३० राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने करिब ५० जना घाइते भएको स्थानीय पत्रकार यज्ञ थापाले बताएका छन् ।

पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तलाई प्रधानमन्त्री बाबुराम भट्टराईले संरक्षण दिन खोजेको विरोधमा दैलेखमा क्रियाशिल विपक्षी दलहरुले प्रधानमन्त्रीलाई बहिस्कार गर्ने योजना अनुसार १० माघमा जिल्ला सदरमुकाम बन्द गर्नुका साथै घरघरमा कालो झण्डा ठड्याएका थिए भने प्रतिकारको तयारी गरेको एमाओवादीले १० माघ विहानै जिल्लाबाहिरबाट समेत २२ वटा बसमा कार्यकर्ताहरु ओसारेको थियो ।

विपक्षीदलका जिल्लाप्रमुखहरु घाइते
प्रहरीको प्रहारबाट नेपाली कांग्रेस दैलेख सभापति कृष्ण बिसी, सचिव भुपेन्द्र शाही, सहसचिव रेशम विक लगायतका घाइते भएका छन् । त्यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष अमर बहादुर थापा लगायतका नेता कार्यकर्ताहरु पनि घाइते भएका छन् ।

जिल्लाका डिएसपी शारदा प्रसाद चौधरी आफैंले प्रहार गरेको लाठीबाट कांग्रेस सचिव शाहीको हात भाँच्चिएको छ भने एमाले जिल्ला अध्यक्ष थापाको घुंडामा गहिरो चोट लागेको छ । त्यसैगरी वाइसिएल कार्यकर्ताले कांग्रेस जिल्ला सहसचिव रेशम विकको टाउकोमा बोत्तल प्रहार गरी गम्भीर घाइते बनाएका छन् । उनलाई जिल्ला बाहिर लैजाने तयारी भइरहेको स्थानीय पत्रकारले जानकारी दिए ।

त्यसैगरी एमाओवादी कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा आक्रमण गर्दा कार्यालय सहयोगीद्वय नरबहादुर थापा र शमशेर केसी घाइते भएका छन् ।

पत्रिकाको कार्यालयमा तोडफोड, ‘डेकेन्द्रकै हालत’ बनाइदिने चेतावनी

जुलुश प्रदर्शन गर्दै आएका एमाओवादी कार्यकर्ताहरुले स्थानीय दैनिक ‘ तेस्रो आँखा’ को कार्यलयमा तोडफोड गरेका छन् । उनीहरुले पत्रिकाको कार्यालयको झ्यालका सिसा फोड्नुका साथै फर्निचरहरु पनि तोडफोड गरेका छन् ।

तोडफोडपछि आगजनी गर्न खोज्दा विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेपछि कार्यालयमा आगो लाग्न भने पाएन । प्रतिकारमा केही एमाओवादी कार्यकर्ता घाइतेसमेत भएका छन् ।

त्यसैगरी एमाओवादी कार्यकर्ताहरुले पत्रकारहरुलाई ‘डेकेन्द्रकै हालत’ बनाइदिने चेतावनी समेत दिएका छन् । उनीहरुको चेतावनीपछि विरोधमा उत्रिएका पत्रकारहरुले प्रधानमन्त्री सभास्थलतर्फ जाने बाटोमा सुतेर विरोध जनाएका थिए । तर प्रहरीले पत्रकारहरुलाई बल प्रयोग गरी त्यहाँबाट हटाएको थियो ।

८ वर्ष अघि दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई माओवादी कार्यकर्ताले चरम यातनापछि  जिउँदै खाल्डोमा पुरेका थिए ।

सभा विथोलियो
स्थानीय काँडाचौर (पूरानो टुंडिखेल) मा एमाओवादीको सभालाई उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्न थाल्दा विपक्षी दलका कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका थिए । त्यसपछि भएको झडपमा दुईतर्फी ढुंगा हानाहान हुँदा सभा केहीबेरका लागि विथोलिएको थियो ।

स्थिति अझै तनावपूर्ण
बेलुका ८ बजेसम्म जिल्लामा स्थिति तनावपूर्ण नै रहेको स्थानीय वासिन्दाले बताएका छन् । कार्यक्रम सकिए पनि एमाओवादी कार्यकर्ताहरु कार्यक्रमस्थलमै छन् भने विपक्षी दलहरु सदरमुकाममा एकत्रित भएका छन् । सदरमुकाको मुख्यबजार खलंगाबाट कार्यक्रमस्थल एक किलोमिटरको दुरीमा छ ।

त्यसैगरी सदरमुकाममा भेटिएका एमाओवादी कार्यकर्ताहरुलाई विपक्षी दलका कार्यकर्ताहरुले कुटपिट गरेका छन् । बेलुका करिब पाँच जना एमाओवादी कार्यकर्ता कुटिएको स्थानीय पत्रकारले बताएका छन् ।

बिहान २२ वटा बसमा आएका र अहिले कार्यक्रमस्थलमा एकोहोरिएका एमाओवादी कार्यकर्ताले राति आक्रमण गर्ने हुन् कि भन्ने त्रासमा रहेको एकजना स्थानीयवासिन्दाले बताए ।

यसैबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराई र अर्का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताले एमाओवादी दैलेखको प्रथम अधिवेशनलाई सम्वोधन गरेका छन् । सम्बोधन पछि उनीहरु हेलिकप्टरबाट फिर्ता भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>