समाचारबुधबार, माघ १०, २०६९
राजविराजमा सिंह र मिश्रको शालिक अनावरण
१० माघमा सिंहको पूण्य तिथिको अवसर पारेर उनका सहकर्मीद्वय सत्यनारायण दास र गुणानन्द चौधरीले राजविराजको पूरानो त्रिभूवन चोकमा संयुक्त रुपमा शालिक अनावरण गरेका हुन् । अहिले उक्त चोक गजेन्द्र चोक भएको छ ।
शालिक अनावरण कार्यक्रममा राष्ट्रपतिलाई बोलाउने बताइएको भए पनि राष्ट्रपति त आएनन् नै सदभावना पार्टी टुक्रिएर बनेका सात दलमध्ये दुईदल संघीय सदभावना पार्टीका अनिल झा र सदभावना गजेन्द्रवादीका विकास तिवारीमात्रै उपस्थित भए । उद्योग मन्त्री समेत रहेका झाले सिंहको शालिक अनावरण गर्ने आफ्नो हैसियत नभएको बताउँदै अस्वीकार गरेपछि दास र चौधरीले संयुक्त रुपमा शालिक अनावरण गरेका हुन् ।
कांग्रेसको विरोध, हतारमा स्थापना
नेपाली काग्रेसले राजविराजको गजेन्द्र चोक (पुरानो त्रिभुवन चोक) लाई प्रजातान्त्रिक सेनानी चोक घोषणा गर्नुपर्ने विगत तीन वर्षदेखि माग राख्दै आए पनि विरोधका बावजुद गजेन्द्र नारायण सिंहको शालिक अनावरण गरिएको हो ।
कांग्रेसले शालिक गजेन्द्रनारायण सिंहको रहे पनि नामाकरण भने ‘प्रजातान्त्रिक सेनानी चोक’ गर्नुपर्ने भन्दै प्रदर्शनसमेत गर्दै आएको थियो । चोकको नामाकरणको विषयलाई लिएर मधेशकेन्द्रीत दलहरु र नेपाली कांग्रेस सप्तरीबीच उत्पन्न विवाद मिलाउन उद्योग मन्त्री झाको अगुवाइमा प्रमुख जिल्ला अधिकारीको निवासमा बिहानै सर्वपक्षीय बैठक बोलाइएको थियो । बैठकमा कुरा नमिलेपछि स्थानीय केही नेताहरुले बयोबृद्ध नेता दास र चौधरीलाई अगाडि सारेर शालिकको अनावरण गरिएको हो ।
दोस्रो मधेश आन्दोलनका क्रममा फागुन २०६४ मा तत्कालिन राजा त्रिभुवनको शालिक तोडेर गजेन्द्र चोक नामाकरण गरिएको थियो । चैत २०६५ मा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले स्व. सिंहको शालिक शिलान्यास गरे पनि सद्भावनाभित्रकै विवादका करण शालिक स्थापना हुन सकेको थिएन । पछिल्लो पटक ७ माघमा कांग्रेस सप्तरीले यो चोकलाई प्रजातन्त्र सेनानी चोक नामाकरण गर्न पहल गर्ने निर्णय गरे लगत्तै ८ माघमै एक जना नेताको घरमा राखिएको स्व. सिंहको शालिक निकालेर स्थापना गरिएको हो ।
चोकमा सम्भावित दुर्घटना हुन नदिन दिनभर ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालित गरिएको थियो । शालिक अनावरणपछि दिनभर मधेश केन्द्रीत दलका नेताहरुले चोकमा पहरा दिंदै भाषण ठोकेका छन् ।
यसैगरी १० माघमै राजविराजस्थित महेन्द्र पार्कमा स्व. शाकेतचन्द्र मिश्रको शालिक अनावरण गरिएको छ । स्व. मिश्रकी ७५ बर्षीया आमा चपलादेवी मिश्रले एक कार्यक्रमबीच शालिक अनावरण गरिन् ।
सप्तरीको तिलाठी–३ निवासी मिश्रलाई तत्कालिन सरकारको आदेशमा २०४२ साल असार ७ गते बेपत्ता पारिएको थियो । बेपत्ता भएको बखत रामराजा प्रसाद सिंहको जनवादी मोर्चाका सचिव रहेका झा नेपाल विद्यार्थी संघका संस्थापक हुन् ।
२०४२ सालमा राजधानीमा बमकाण्ड गराएको आरोपमा सप्तरीका तत्कालिन डिएसपी इन्दिबर सिंह थापाको नेतृत्वमा गएको टोलीले मिश्रलाई नियन्त्रणमा लिई बेपत्ता पारेको भनिन्छ । नेपाली कांग्रेस सप्तरीको अगुवाईमा उनको शालिक स्थापना गरिएको हो ।
श्रवणकुमार देव, सप्तरी

