समाचारबुधबार, माघ १०, २०६९
विपक्षी दलहरुले खुलामञ्चमा विरोधसभा गर्ने
विपक्षी दलहरूको संयुक्त जनआन्दोलन परिचालन समितिले कांग्रेस केन्द्रीय कार्यालयमा १० माघमा पत्रकार सम्मेलन गरी २६ माघसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कांग्रेस नेता नवीन्द्रराज जोशीले संघर्षका थप कार्यक्रमअन्तर्गत माघ १२ गते भक्तपुरको पाँचतले मन्दिर परिसर र ललितपुरको जावलाखेलमा विरोधसभा र २६ माघमा काठमाडौंको खुलामञ्चमा विरोध सभा गरिने जानकारी दिए ।
त्यस्तै, उपत्यकामा हुने कार्यक्रमअन्र्तगत माघ १६ गते राजधानीको शहीदगेटमा शहीदको फोटो प्रदर्शनी तथा विरोधसभा आयोजना गरिनेछ । केन्द्रीय सदस्य जोशीले विभिन्न आन्दोलनमा शहादत पाएका व्यक्तिहरूको फोटो आन्दोलनरत दलका कार्यालयमा पठाउन पनि आग्रह गरे ।
“सरकार सहमति चाहँदैन, निर्वाचन टारेर सर्वसत्तावाद, निरङ्कुशता लागु गर्न चाहन्छ, अबको निकास भनेको आन्दोलन नै हो”, जोशीले भने । पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन परिचालन समितिअन्तर्गत नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठलगायत विभिन्न पार्टीका नेताहरूको पनि सहभागिता थियो ।

