समाचारबिहीबार, माघ ११, २०६९
महोत्तरीमा दैनिक २० घण्टा बढी लोडसेडिङ
भारतले गतसाता सीतामढी–जलेश्वर, रक्सौल–वीरगन्ज र कटैया–राजविराज गरी तीन ठाउँको ३२ केभी प्रसारण लाइनबाट विद्युत् सेवा बन्द गरिदिएपछि जिल्ला सदरमुकाम जलेश्वरसहित ४५ गाविसका बासिन्दा दैनिक २० घण्टाभन्दा बढी लोडसेडिङ खेप्न बाध्य भएका हुन् ।
भारतले विद्युत् सेवा बन्द गरिदिएपछि छिमेकी धनुषा जिल्लाका १५ गाविससमेत चर्को लोडसेडिङ को मारमा परेको केन्द्रका शाखा प्रमुख जितेन्द्र झाले जानकारी दिए । अहिले नेपालकै उत्पादनको दुई मेगावाट विद्युत्बाट जिल्लाभरी सेवाप्रवाह गर्नुपर्दा जिल्लाको उत्तरवर्ती भेगका २५ गाविसमा समेत लोडसेडिङ बढेको केन्द्रले जनाएको छ ।
यससँगै घण्टैपिच्छे विद्युत् आउने जाने तालिकाले जनजीवन प्रभावित भएको जलेश्वरनगरका पूर्वउपप्रमुख मनोहरकुमार महतोले गुनासो गरे । पछिल्लो थपिएको यो समस्याले सदरमुकामस्थित साना कुटिर उद्योगका उत्पादनमा ६० प्रतिशत ह्रास आएको उद्यमीहरुको गुनासो छ । यो समस्याले राजस्व, रोजगारी, अन्य आर्थिक गतिविधि र सञ्चारक्षेत्रमा समेत नकारात्मक असर परेको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकपुर साहले बताए ।
लोडसेडिङका कारण जिल्लाबाट प्रकाशन हुने छ वटा साप्ताहिक पत्रिका र पाँचवटा एफएम रेडियोहरु पनि आफ्नो सेवा खुम्च्याउन बाध्य भएको नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका पूर्वअध्यक्ष विन्देश्वरीप्रसाद मण्डलले बताए ।
रासस
