समाचारबिहीबार, माघ १८, २०६९
स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकारः एमाओवादी
अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा १८ माघमा बसेको पार्टीको पदाधिकारी बैठकले अहिलेको अवस्थामा कुनै पनि दल विशेषको नेतृत्वमा सरकार बनाउने अवस्था नरहेकाले आउने जेठ दोस्रो सातासम्ममा चुनाव गर्ने गरी स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बाध्यताले गर्दा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउने निष्कर्षमा आफ्नो पार्टी पुगेको एमाओवादी प्रवक्ता अग्नि सापकोटाले बताए । एमाओवादीले यसअघि पनि स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने विषय उठाएको थियो ।
सरकारविरुद्ध आन्दोलनमा रहेका विपक्षी दलहरुले भने स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन आफूहरुलाई मान्य नहुने बताउँदै आएका छन् ।
यसैबीच एकीकृत नेकपा माओवादीले २० माघदेखि हेटौडामा शुरु हुने महाधिवेशनमा प्रस्तुत गरिने विधान पारित गरेको छ ।
पदाधिकारी बैठकल पारित गरेको विधानको मस्यौदामा जनवादी केन्द्रीयताको आधारमा सङ्गठन निर्माणको प्रक्रियालाई मूलभूत सिद्धान्त मान्ने, सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीको अवधारणालाई स्वीकार्ने विषयलाई विशेष जोड दिइएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
यसैगरी महाधिवेशनमा पूर्व लडाकुहरूलाई विशेष प्रतिनिधिका रूपमा सहभागी गराइने निर्णय पनि भएको छ ।
